लेकसाइडमा सडक महोत्सव शुरु
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आजदेखि सडक महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले गरेका छन् ।
५ दिनसम्म चल्ने महोत्सवमा विभिन्न साँस्कृतिक झाँकी, गीत–संगीतमा रम्दै विभिन्न परिकारको स्वाद लिन पाइने आयोजक रेबानले जनाएको छ ।
‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाउँ’ भन्ने नाराकासाथ शुरु भएको महोत्सवले ‘अफ सिजन’ मा पर्यटकको चहलपहल बढाउने र पर्यटकको बसाई लम्बिने रेबान पोखराका सचिव गणेशबहादुर थापाले बताए ।
अँग्रेजी नयाँ बर्ष २०१७ को पूर्वसन्ध्यामा आयोजित सडक महोत्सवमा रेवानमा आवद्ध ९९ वटा रेस्टुरेण्ट व्यवसायीले विभिन्न देशका खानाका परिकार सडकमै खुवाउने रेवान पोखराका अध्यक्ष गोपिबहादुर भट्टराईले जानकारी दिए ।
‘तीन दल मिल्नुको विकल्प छैन’
महोत्सवको उदघाटन समारोहमा बोल्दै मन्त्री केसीले संविधान कार्यान्वयन गर्न तीन प्रमुख दल मिल्नुको विकल्प नभएको बताए ।
उनले संविधान संशोधन विधेयकको विरोधमा एमालेले संसदमा गरिरहेको अवरोधको भने आलोचना गरे ।
“संसदीय व्यवस्थामा प्रस्तुत विधेयकमा छलफल नै गर्न दिन्न भन्नु लोकतान्त्रिक व्यवहार होईन,” उनले भने, “विधेयक परिमार्जन गर्ने वा असफल बनाउने संसदबाटै गर्न सकिन्छ ।”
युवराज श्रेष्ठ, पोखरा