रिपोर्टबुधवार, पौष १३, २०७३

सुनसान नाका शून्य गतिविधि

मुकेश पोखरेल

महाभूकम्पले नेपाल–चीन व्यापारिक नाका तातोपानी ठप्प बनाएपछि अर्बौंको कारोबार र हजारौं रोजगारी शून्यमा झरेको छ।

भूकम्पअघि सम्म वार्षिक साढे तीन अर्ब राजश्व उठाउने तातोपानी भन्सार कार्यालय अहिले बन्द छ । सबै तस्वीर: बिक्रम राई

तातोपानी–३ लिपिङ बजारमा भारी बोकेरै दैनिक दुई–तीन हजार कमाउने सोमजित थामी (४१) गएको २७ मंसीरमा दुबई उडे। १२ वैशाख २०७२ को महाभूकम्पपछि ६ जनाको परिवारलाई छाक टार्ने समस्या भएपछि वैदेशिक रोजगारी बाध्यता बनेको उनकी पत्नी विमला थामीले बताइन्।

उनी भन्छिन्, “भूकम्प अघि बचत पनि गरेका थियौं, तर पछि न बास न गाँस भइयो।” 

भूकम्पअघि घरै बसीबसी भरिया काम गरेर मनग्ये आम्दानी गरिरहेका लिपिङका सोमजित जस्तै टसी, विशाल, दिनेश र सञ्जय थामी पनि विदेशिएका छन्।

खाडीचौर बजारमा चिनियाँ इलेक्ट्रोनिक सामान बेच्ने छेवाङ गोले इन्टरप्राइजेज संचालक शेखर लामा र सुनकोशी होटल सञ्चालक रामशरण कार्की पनि व्यवसाय बन्द गरेर विदेशिए।

खाडीचौरभन्दा पाँच किलोमिटर वरको दोलालघाटतर्फको वलेफी बजारमा होटल सञ्चालन गरेकी शिवमाया गिरीले भूकम्पपछि दुई छोरालाई विदेश पठाइन्। “भूकम्पले होटल खायो” शिवमाया भन्छिन्, “यहाँ केही नहुने भएपछि छोराहरूलाई विदेश पठाएँ।”

विदेशिने बढे
भूकम्पपछि चीन–नेपाल व्यापारको प्रमुख नाका तातोपानी बन्द भएसँगै अरनिको राजमार्गमा पर्ने दोलालघाटदेखि लिपिङसम्मको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भयो।

भूकम्पले क्षतविक्षत लिपिङ् बजार ।

भूकम्पअघि राम्रो कमाइ गरिरहेकाहरू अहिले कि विदेशिएका कि त बेरोजगार बसेका छन्। नेपाल राष्ट्रिय वाणिज्य संघ क्षेत्र नम्बर १ सिन्धुपाल्चोकका अध्यक्ष निमादोर्जे शेर्पाका अनुसार, भूकम्पअघिको व्यापारिक माहोलमा तातोपानी गाविसका मात्र १२ सयभन्दा बढीले लिपिङमा भारी ओसारपसार गरेरै दैनिक दुई–तीन हजार कमाउँथे।

“भरियालाई त्यत्रो ज्याला दिने व्यापारीको त्यही अनुसारको कमाइ थियो” शेर्पा भन्छन्, “होटल संचालक, व्यापारिक सामान सीधै काठमाडौं लैजाने कन्टेनर व्यवसायी र व्यापारीहरूको दैनिक करोडौंको व्यापार थियो।”

सिन्धुपाल्चोक जिल्लाका ७९ मध्ये तातोपानी, फुलपिङ, मार्मी, लिष्टीलगायत ३० गाविसका धेरैले खासा र लिपिङमा सामान ओसारपसार गरेर राम्रो कमाइ गरिरहेका थिए।

विनाशकारी भूकम्पले उनीहरूको कमाइ मात्र नभई बास पनि हरण गर्‍यो। त्यसपछिको समयमा विदेशिनेको दर ह्वात्तै बढेको मार्मी–९ चाकुको ग्रामीण सिर्जनशील निगरानी समितिकी सचिव अमृता श्रेष्ठ बताउँछिन्।

“मार्मी गाविसबाट मात्र १३०० भन्दा बढी विदेशिए, जसमा महिला बढी छन्” वैदेशिक रोजगारीमा जानेहरूलाई परामर्श दिने काममा समेत संलग्न उनी भन्छिन्, “ठगिने क्रम पनि बढेको छ।”

सोमजित थामी एउटा उदाहरण हुन्, जसले दुबईमा 'लेवर काम गर्न' रु.१ लाख ५० तिर्नुपर्‍यो। भूकम्पलगत्तै जेठमा कुवेत जान खोजेकी मार्मी–९ चाकुकी लाक्पा डोल्मा तामाङ त झ्ण्डै प्रहरीको फन्दामा परिन्।

उनीभन्दा अघिल्लो समूहमा कुवेत हिंडेका सात जना महिला काठमाडौं एअरपोर्टमा पक्राउ परेपछि आफू जोगिएको उनले बताइन्। “म्यानपावरका मान्छेले हामी सबैलाई पहिला पनि कुवेत गएको भन्न लगाएका थिए” उनी भन्छिन्, “कसैले त्यही कुरा भन्न नसक्दा अघिल्लो समूहमा उड्न लागेका सबै पक्राउ परे।”

भूकम्पअघि डोल्माका श्रीमान् साङ्गे तामाङ तातोपानी भन्सार कार्यालयको क्यान्टिनमा काम गर्थे। भूकम्पपछि दुवै जनाले रु.१०–१० हजार खर्चेर पासपोर्ट बनाई काठमाडौंकी दालम शेर्पालाई बुझाएका थिए, एक–एक लाख रुपैयाँका साथ।

दालमले साङ्गेको पढाइ पुगेन, तिम्रो चाहिं पढाइ नभए पनि हुन्छ भन्दै आफूलाई कुवेत पठाउन खोजेको डोल्मा बताउँछिन्। दालमले श्रम र टिकटको ५०–५० हजार माग्दै पासपोर्ट फिर्ता नदिएको उनले बताइन्।

ज्यामीको अभाव
युवा जति सबै वैदेशिक रोजगारीमा गएकाले सिन्धुपाल्चोकमा भूकम्पपछिको पुनःनिर्माणमा जनशक्ति अभाव छ। पिस्कर–९ का भीमबहादुर खड्का गाउँमा काम गर्ने कोही भेटिए पनि ज्याला ज्यादै महँगिएको बताउँछन्। उनका अनुसार, भूकम्प अघि रु.५०० रहेको डकर्मीको दैनिक ज्याला अहिले रु.१२०० पुगेको छ।

स्वास्थ्य चौकी, विद्यालयलगायतका भवन बनाउँदा सरकार र संघ–संस्थाले त्यत्रो ज्याला दिन सके पनि भत्केको घर बनाउने सर्वसाधारणले डकर्मी नै नपाउने खड्काले बताए।

सुनकोशी किनारमा बालुवा चाल्ने मजदूरहरू पनि सुर्खेत, बर्दिया, दैलेख, बाजुरालगायतका जिल्लाबाट आएका भेटिए। चेहेरे नजिकैको बगरमा बालुवाको ठेक्का लिएका हरिकुमार माझीले स्थानीय मजदूर नपाएपछि टाढाटाढाबाट बोलाउनुपरेको बताए।

उनका अनुसार, अहिले दोलालघाटदेखि जुरेसम्मको सुनकोशी किनारमा बालुवा चाल्ने काममा लागेका करीब चार हजारमध्ये ९५ प्रतिशत सिन्धुपाल्चोक बाहिरका मानिस छन्। परिणाम, रु.१ हजारमा पाइने एक ट्रली बालुवाको मूल्य अहिले रु.१५०० पुगेको खत्रीथोकका पदम सापकोटाले बताए। उनले भने, “त्यो पाउन पनि पालो पर्खनुपर्छ।”

ठप्प व्यवसाय

मितेरी पुल पारी चिनिया प्रवेशद्वार पनि अहिले बन्द छ ।

भूकम्पअघि साँगाचोक–१ सिम्लेकी कमला श्रेष्ठको होटलमा १० कामदार थिए, अहिले चार जना छन्। भूकम्पअघि दैनिक लाख हाराहारी व्यापार हुने होटलमा अहिले मुश्किलले रु.१० हजारको हुन्छ। मालसामान र थरीथरीका मदिराले खचाखच भरिने र्‍याकहरू अहिले खाली छन्।

“पहिला चार बोतल ब्ल्याक लेवल ह्विस्की एकसातामा बिक्री भइसक्थ्यो” श्रेष्ठ भन्छिन्, “भूकम्पले व्यापारिक नाकासँगै होटल व्यवसाय पनि ठप्प पार्‍यो।”

दोलालघाटदेखि तातोपानीसम्मको ६५ किलोमिटर अरनिको राजमार्ग दायाँबायाँ डेढसयभन्दा बढी साना–ठूला होटल छन्। ती सबै अहिले सुनसान छन्। खाडीचौरको थकाली होटल संचालक सुनिल श्रेष्ठले भूकम्पपछि सबै कामदारलाई विदा गरेर बूढाबूढीले धानेको बताए।

उनका अनुसार, भूकम्पपछि खाडीचौरमा पाँच र नयाँपुलस्थित झोलुङ्गेपुलको मुखका दुई वटा होटल बन्द भए। बञ्जी जम्पिङका लागि आउनेहरूबाट होटल व्यवसाय चम्केको नयाँपुल पनि अहिले सुनसानप्रायः छ।

बञ्जी जम्पिङ सञ्चालक 'दि लास्ट रिसोर्ट प्रालि' का सञ्चालक प्रकाश प्रधान भूकम्पअघि सातामा सयभन्दा बढी मानिस आउने गरेकोमा अहिले २० जना पुग्ने बताउँछन्। उनी भन्छन्, “विदेशीहरू त ठप्प नै भए।”

बाह्रबिसेका श्यामसुन्दर श्रेष्ठको होटलमा भूकम्पअघि दैनिक ६० जनाभन्दा बढी पाहुना हुन्थे। अरू ६ वटा होटल पनि भरिभराउ हुन्थ्यो। अहिले त मानिस आउनै छाडेको श्रेष्ठ बताउँछन्।

बाह्रबिसेभन्दा माथि तातोपानीतिरका होटलहरूको अवस्था झ्नै दयनीय भएको उनले बताए। तातोपानी धारा छेउमै होटल चलाएकी कामी डोल्माले अहिले बजारै निर्जन भएको बताइन्। तातोपानीमा घुम्न आएका फाट्टफुट्ट युवक–युवती हेर्दै २ पुसमा हामी लिपिङ पुग्दा पूरै सुनसान थियो।

भूकम्पअघि तातोपानीदेखि लिपिङसम्मको पाँच किमी सडकमा दायाँबायाँ साना–ठूला गरी ५० भन्दा बढी होटल थिए। ती सबैमा खचाखच मानिस हुन्थे। अहिले तातोपानी धाराका दुई बाहेक अरू सबै होटल बन्द छन्।

लिपिङका निमादोर्जे शेर्पाका अनुसार, भूकम्पअघि दैनिक चार हजारभन्दा बढी मानिस आउजाउ गर्ने यो ठाउँमा अहिले मान्छे देख्नै मुश्किल पर्छ। अरनिको राजमार्गले खोलेको यो क्षेत्रको पर्यटन समेत भूकम्पपछि ध्वस्त भएको छ।

लिपिङ र तातोपानी त निकै माथि भयो, तल वलेफी बजारको लालकाजी श्रेष्ठको कपडा पसलमा १ पुसको दिउँसो १ बजेसम्म पनि बिक्री शून्य थियो।

एकछिन हात खाली नहुने पसलमा भूकम्पपछि बिहानबेलुका छाक जुटाउन नसक्ने अवस्था पुगेको उनले बताए। भूकम्पले १५ जना व्यापारीलाई खाडीचौरबाट विस्थापित गरेको स्थानीय कार्केन लामाले बताए। उनी आफैं पनि खासामा भन्सार एजेण्ट थिए, तर भूकम्पले बेरोजगार बनाएर अहिले घरमै छन्।

अहिलेको उल्टो कथा
अरनिको राजमार्गको व्यापार–व्यवसायमा भूकम्पले पुर्‍याएको धक्का बुझ्न नेपाल ट्रक तथा कन्टेनर व्यवसायी संघका महासचिव कृष्ण क्षेत्रीको भनाइ काफी छ। उनका अनुसार, काठमाडौं–तातोपानी चल्ने साना–ठूला ११ सय कन्टेनरमध्ये आधा अहिले यत्तिकै थन्किएका छन्।

सयजति कन्टेनरलाई भूकम्पपीडितले आश्रयस्थल बनाएका छन्। बाँकी केरुङलगायतका नाकातिर चलेका छन्। “कतिपय कन्टेनरधनीले किस्ता तिर्न अरू जायजेथा बेचेका छन्”, क्षेत्री भन्छन्, “एकसय भन्दा बढी कन्टेनरचालक खाडी मुलुक गएका छन्।”

भूकम्पअघि तातोपानी–लिपिङ सडकमा गाडी र मानिसको भीडभाड छिचोल्न मुश्किल पर्थ्यो, अहिले भने पूरै सुनसान छ। मार्मीको चाकुदेखि लिपिङसम्मको १३ किमी सडकमा त अहिले पनि भूकम्पले भत्काएका/चर्काएका संरचनाहरूको अवरोध नै छ। लिपिङ बजारको कन्टेनर पार्किङलाई भोटेकोशीले बगाएको छ।

लिपिङका कुनै घरमा मानिसको बसोबास छैन। भन्सार कार्यालयको एउटा कोठामा सशस्त्र सीमा सुरक्षाबल कोदारीबाट खटिएका तीन जना प्रहरी भेटिए। धराप बनेका घरहरूमा एभरेष्ट ब्यांक, नेपाल बाङ्लादेश ब्यांक, ग्लोबल आईएमई, ब्यांक अफ काठमाडौं र इन्फास्ट्रक्चर डेभलपमेन्ट ब्यांकको बोर्ड देखिन्छ। चिनियाँहरू सीमा नाकाको प्रवेशद्वार बन्द गरेर अन्यत्र लागेका छन्।

स्थानीयहरूले तातोपानी भन्सार सञ्चालन गर्न माग गरिरहेका छन्, तर बाह्रबिसेबाट उकालो लागेपछि देखिने खतराका चिह्नहरूले सडक खुलाउन त्यति सहज नभएको देखाउँछ।

ठाउँठाउँमा पहिरोले पुरेको सडक खोलिएको छ, तर गाडी छिराउन गाह्रो छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डे पहिले त सडक खोल्ने गतिलो प्रयास नै हुनुपर्ने बताउँछन्।

तातोपानी भन्सार कार्यालयले भूकम्पअघि वार्षिक रु.३ अर्ब राजश्व संकलन गर्थ्यो। लिपिङ बजारमा मात्र दैनिक १५–२० लाखको कारोबार हुन्थ्यो।

बाह्रबिसे उद्योग वाणिज्य संघका अध्यक्ष कमल श्रेष्ठको अनुमानमा, दोलालघाटदेखि लिपिङसम्म ६५ किमी सडक क्षेत्रमा होटल र पसलहरूले दैनिक कम्तीमा रु.३५ लाखको कारोबार गर्थे, जुन अब पुरानो कथा बनेको छ।

पहिले ५ किमी टाढा चीनको खासाबाट सामान ल्याएर काठमाडौं पुर्‍याउने यो क्षेत्रको दैनिकी अहिले २५० किमी टाढाको रसुवागढी–केरुङ नाकाबाट काठमाडौंहुँदै ल्याइएको सामानबाट धानिएको छ।

पहिला लिपिङदेखि काठमाडौंसम्मका व्यापारीहरूको व्यापार खासाबाट ल्याइने सामानमा निर्भर थियो। अहिले दोलालघाटदेखि तातोपानीसम्मका व्यापारीहरू केरुङ नाकामा निर्भर हुन पुगेका छन्। पाँच किलोमिटर टाढाको खासा बजारबाट सामान ल्याउने तातोपानीका व्यापारीहरू २५० किमी टाढाको केरुङमा निर्भर हुनुपर्दा महँगी बढेको छ।

प्रतिकृया दिनुहोस