समाचारबुधबार, १३ पौष , २०७३

तीन दल बैठकः एमालेद्वारा सत्तारुढ दलको प्रस्ताव अस्वीकार

हिमालखबर

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठक ठोस निर्णयबिना टुङ्गिएको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका शीर्ष नेताहरुबीच भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संसदको अवरोध हटाएर संविधान संशोधनको विषय प्रक्रियाबाटै टुंगो लगाउन एमालेसँग गरेको प्रस्ताव उसले अस्वीकार गरेको छ ।

संविधान संशोधन, निर्वाचन सम्बन्धी विधेयक, लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव एवम् स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन लगायतका विषयमा प्रमुख दलबीच समझदारी बनाएर अघि बढ्न समेत प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले एमालेसँग आग्रह गरेको कांग्रेस नेता एवम् गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने निर्वाचनको प्रक्रिया शुरु भए मात्र संसदको अवरोध हटाउने बताएको निधिले जानकारी दिए ।

ओलीले निर्वाचनको प्रक्रिया अघि बढेमात्र संसदमा जारी अवरोध हटाइने भन्दै संविधान संशोधनको प्रक्रिया अघि बढाउनका लागि भने संसद सूचारु हुन नदिने बताएका थिए ।

बैठकपछि एमाले नेता भीम रावलले प्रधानमन्त्रीले निषेधको राजनीति गर्न खोजेको आरोप लगाए । उनले भने, ूसहमति कि विमति कुन बाटो रोज्ने भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौं।

निर्वाचनसम्बन्धमा भने तीन दलबीच समान धारणा रहे भए पनि संशोधन प्रस्ताव अघि बढाउन संसद सुचारु गर्ने विषयमा तीन दलबीच सहमति हुन सकेन । यद्यपी बैठकले स्थानीय निकायको निर्वाचनको मिति पनि निर्धारण गर्न सकेन ।

 

प्रतिकृया दिनुहोस