रिपोर्टमंगलवार, पौष १२, २०७३

शीतलहरको कहर

हिमालखबर

- सन्त गाहा मगर र सविता श्रेष्ठ

२९ मंसीरमा वीरगञ्ज घण्टाघर । तस्वीर: सुरेश बिडारी

उत्तरी भारतमा बढेको औद्योगिकीकरणलगायतका प्रकृतिमा प्रतिकूल प्रभाव पार्ने गतिविधिबाट सिर्जित शीतलहर खासगरी तराईका जिल्लाहरूमा हरेक वर्ष ठूलो धनजनको क्षतिको कारक बन्दै गए पनि यसबाट बच्ने तयारी शून्य छ।

२८ मंसीरको राति सर्लाहीमा उच्चमाया कामी (६९) को कठ्याङ्ग्रिएर मृत्यु भयो। हरिऔन–११ बस्ने उनको मृत्यु शीतलहरले बढाएको अत्यधिक चिसोबाट भएको प्रहरी रिपोर्टमा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, त्यस दिन जनकपुरको अधिकतम तापक्रम १५.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा झरेको थियो।

मौसमविद्हरूका अनुसार, शीतलहर चलेको बेला अधिकतम र न्यूनतम तापक्रम बीचको अन्तर ज्यादै कम हुन्छ। सर्लाहीबाट सबभन्दा नजीक रहेको विभागको जनकपुर स्टेशनमा २३ मंसीरदेखि अधिकतम र न्यूनतम तापक्रम बीचको अन्तर ३ देखि ७ डिग्री सेल्सियससम्म मापन भएको छ। 

साढे दुईदशक यताको तथ्यांक हेर्दा नेपालमा शीतलहरबाट वर्षेनि सरदर ३७ जनाको मृत्यु हुने गरेको देखिन्छ। सन् १९९० पछि नेपालको दक्षिणी मैदानमा शुरू भएको शीतलहरका कारण ५२ जिल्लाका एकहजार जनाको ज्यान गइसकेको अभिलेख नेपाल प्रहरीसँग छ।

शीतलहर चल्न थालेपछि मानव स्वास्थ्य बाहेक खेतीपाती, पशुपालन, सडक यातायात, हवाई उडान, पर्यटन, शैक्षिक संस्थालगायत प्रभावित हुन्छ। रावलपिन्डी (पाकिस्तान) देखि रंगपुर (बाङ्लादेश) सम्म फैलिने शीतलहरले दक्षिण एशियाको उत्तरी मैदानी इलाकामा हरेक वर्ष ५० करोडदेखि एक अर्ब जनालाई प्रभावित गर्ने विभिन्न अध्ययनको निष्कर्ष छ।

के हो शीतलहर?

काठमाडौंको कुलेश्वरमा आगो ताप्दै । तस्वीर: बिक्रम राई

सूर्योदयसँगै बढेर मध्याह्नमा उच्चविन्दुमा पुग्ने तापक्रम सूर्यास्तसँगै घटेर सूर्योदय हुनुअघि न्यूनविन्दुमा झरिसकेको हुन्छ। राति सौर्यकिरण नहुने हुँदा पृथ्वीमा तापक्रम क्रमशः घट्दै न्यूनतिर र्झ्छ। मौसमविद्हरूका अनुसार, सापेक्षिक आर्द्रता कम भएका बेला जलवाष्प जलकणमा परिणत हुन्छ।

त्यो जलकणलाई बोलीचालीको भाषामा कुहिरो भनिन्छ। कुहिरो लागेको बेला पृथ्वीको सतह र नजीकको वायुमण्डल चिसो र त्यसभन्दा माथिल्लो भागको वायुमण्डल न्यानो हुन्छ।

दिन छिप्पिंदै जाँदा पृथ्वीको सतहको तापक्रम पनि बढ्दै जान्छ र वायुमण्डलको जलकण फेरि जलवाष्पमा परिणत हुन्छ। अर्थात् कुहिरो हट्छ। तर कुहिरोको तह बाक्लो भएर आवश्यक मात्रामा सौर्य किरण पृथ्वीको सतहसम्म आउन सकेन भने दिनभरि कुहिरो हट्दैन।

“त्यही अवस्था हो, शीतलहर”, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा भन्छन्, “यसको विस्तृत वैज्ञानिक अनुसन्धान हुन भने बाँकी छ।” 

उनका अनुसार, न्यून तापक्रम, जलवाष्पको प्रचूरता, प्रशस्त धूलीकण र बादल हटाउन पुग्ने सौर्य किरण पृथ्वीको सतहसम्म नआइपुग्नु शीतलहरको लागि उपयुक्त वातावरण हो। यस्तो बेलामा मध्याह्नमा समेत सूर्यको किरण बादलको माथिल्लो भागबाटै परावर्तन भएर जान्छ।

सूर्यकिरणले छिचोल्न नसकेपछि पृथ्वीको सतहमाथि बादल हट्दैन र शीतलहर कायम रहन्छ। हप्तौं रहने भएकाले यस्तो अवस्थालाई शीतलहर भनिएको हो।

“एक–दुई दिन घाम नलाग्ने पहिला पनि हुन्थ्यो” महानिर्देशक शर्मा भन्छन्, “तर, १९९० को दशकपछि १०–१५ दिनसम्म पनि घाम नलाग्ने अवस्था शुरू भयो।”

मानव सिर्जित समस्या

वीरगञ्ज उत्तर–पश्चिमको आकाशबाट देखिएको कुहिरोले ढाकेको तराई, खुलेको पहाडसँगै गोरखा, अन्नपूर्ण र धौलागिरि हिमाल। तस्वीर: कनकमणि दीक्षित

इन्धनको अत्यधिक प्रयोग, ईंटा भट्टा, डढेलो, विषाक्त धुवाँ–धूलो, फोहोर, हरितक्रान्ति आदि कारणले लामो समय जमीन चिसो रहन थालेको छ, जसले शीतलहर चल्ने वातावरण बन्छ। अपर्याप्त वर्षा, भौगोलिक अवस्थिति, हावाको बहाव आदिले शीतलहरको वातावरणलाई अझ् अनुकूल बनाउँछ। आँधीबेहरी आउँदा वा पानी पर्दा बाक्लो बादल फाटेर शीतलहर हट्छ।

मौसमविद्हरूका लागि पनि नौलो 'फेनोमेना' को रूपमा हेरिएको शीतलहर देखापर्नुमा हिउँदे झरी नहुनु वा घट्नुलाई पनि कारण मानिएको छ।

पश्चिमी वायु सक्रिय हुँदा हिउँदे झ्री पर्छ। नेपालमा सामान्यतया पुस पहिलो साता शुरू हुने हिउँदे झ्री पछि सर्दै गएको मौसम विभागको अभिलेखले देखाउँछ। हिउँदे झरीलाई प्रभावित पार्ने तीन वर्षअघि २०१४ यता थपिएको तत्व हो– एल–निनो।

मौसमविद्हरू प्रशान्त महासागरको मध्य क्षेत्रमा तापक्रम र वायुमण्डलको अवस्थामा परिवर्तन ल्याउनमा एल–निनोलाई जिम्मेवार मान्छन्। प्रशान्त महासागरको भूमध्य रेखास्थित पूर्व र मध्य भागको सतहको पानी औसतभन्दा बढी तात्ने प्रक्रियालाई एल–निनो भनिन्छ।

नेपालमा तीव्र बनेको शीतलहरको कारण भने खासगरी भारतको औद्योगीकरण र कृषिलाई मानिन्छ। उद्योग–कलकारखानाबाट निस्कने धुवाँ र धूलो मिसिएपछि कुहिरो प्रदूषित हुन्छ।

त्यो प्रदूषित कुहिरो (स्मग) छिचोलेर सूर्यको किरण जमीनसम्म आउन नसक्दा शीतलहर चल्छ। नेपालमा मनसुनी वर्षाको याममा बाहेक अरू बेला वायुको चाप पश्चिमबाट पूर्व वहने हुँदा उत्तरी भारतको प्रदूषण स्वतः आइपुग्छ।

भारतको बिहार, उत्तरप्रदेश, पञ्जाब, हरियाणालगायतका राज्यमा केही दशकयता अत्यधिक औद्योगीकरण र कृषिमा आधुनिकीकरण भएको छ।

जलवायु विश्लेषक ङमिन्द्र दाहाल सिंचाइका कारण जमीन लामो समय ओसिलो भइराख्दा सापेक्षिक आद्रता न्यून हुने बताउँछन्। उनका अनुसार, करीब एक महीनासम्म रहने शीतलहर नेपालमा सामान्यतया १५ डिसेम्बरमा शुरू हुन्छ। 

मध्य डिसेम्बरदेखि जनवरी दोस्रो हप्तासम्म नै शीतलहर रहनुमा नेपालको घाम कम लाग्ने भौगोलिक अवस्थितिले पनि काम गरेको छ। नेपालको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ।

२१–२२ डिसेम्बरमा सूर्य मकर रेखाको साढे २३ डिग्रीको सीधा माथि पुग्छ। नेपालको अक्षांश २६ डिग्रीबाट शुरू भएकाले सूर्यको किरण सीधै आइपुग्दैन। सूर्यको 'ट्राभलिङ पाथ' लामो हुँदा स्वतः चिसो बढ्छ।

जाडो छल्न पहाड

शीतलहर एक किसिमको 'लो क्लाउड' हो। यस्तो बेला हावाको गति मन्द हुन्छ। मन्द हावा चुरे रेञ्ज छिचोलेर माथि जान नसक्ने हुँदा शीतलहरको प्रभाव तराई क्षेत्रमा सीमित भएको हो। जलवायु विश्लेषक दाहालका अनुसार शीतलहरको प्रभाव ५०० देखि १००० मिटरसम्मको उँचाइमा हुन्छ। त्यही कारण हिमाली र उच्च पहाडी भेगबाट जाडो छल्न तराई र्झ्ने आम प्रचलन पछिल्लो समय फेरिएको छ।

हप्तौंसम्म घाम नलाग्दा हिउँदमा पहाडभन्दा तराईमा जाडो बढेको छ। मौसमविद्हरू 'पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ...' भन्ने गीतलाई शीतलहरले गलत सावित गरेको बताउँछन्। “हिउँदमा तराई न्यानो, पहाड चिसो भन्ने भनाइ पूरै उल्टो भएको छ”, जलवायु विश्लेषक दाहाल भन्छन्, “अब त न्यानो खोज्न तराईबाट पहाड उक्लिनुपर्ने भएको छ।”

स्वास्थ्य सेवा विभागका अनुसार, जाडोमा हुने श्वास–प्रश्वासको समस्या, रुघाखोकी, निमोनिया तराईका २३ जिल्लामा धेरै देखिएको छ। चिसोले कठ्याङ्ग्रिएर बढी मृत्यु हुने १० जिल्लामा महोत्तरी, रौतहट, सिरहा, सप्तरी, सर्लाही, धनुषा, बारा, नवलपरासी, मोरङ र रूपन्देही पर्छन्। न्यानो लुगा र पोषणयुक्त खाना नभएकाहरूका लागि हरेक हिउँद काल बनेर आउने गरेको छ।

शीतलहरबाट बढी मृत्यु हुने जिल्लामा गरीबी दर पनि उच्च देखिन्छ। केन्द्रीय तथ्यांक विभागद्वारा प्रकाशित नेपालमा गरीबीको लघु क्षेत्र अनुमान शीर्षकको प्रतिवेदन अनुसार गरीबीको दर महोत्तरीमा १६.२, रौतहटमा ३३.४, सिरहामा ३४.६, सप्तरीमा ३९.५, सर्लाहीमा १७.७, धनुषामा २३.१, बारामा २९.९, नवलपरासीमा १७.०, मोरङमा १६.५ र रूपन्देहीमा १७.३ प्रतिशत छ। चिसोबाट बच्ने उपाय नजानेर पनि अकालमा ज्यान जाने गरेका घटनाहरू पनि छन्। त्यसैले जाडो टरेपछि 'यो सालको काल कट्यो' भन्ने चलन चलेको छ।

पाँच वर्षभन्दा मुनिका बालबालिका र ७० कटेका वृद्धवृद्धालाई चिसोले बढी असर गर्ने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार, गर्मी ठाउँमा बस्नेको शरीर गर्मी थेग्ने र चिसो ठाउँका मानिसको शरीर चिसो सहने गरी विकसित भएको हुन्छ।

त्यसले गर्दा पनि गर्मीमा बसिरहेका तराईवासीलाई शीतलहर झेल्न मुश्किल पर्छ। त्यसमाथि, १० महीना न्यानो रहने तराईमा छोटो समयको जाडोको लागि जोहो पनि गरिंदैन। तराईमा घर डिजाइन गर्दा पनि न्यानो भन्दा पनि शीतल हुने गरी गरिन्छ।

शीतलहरमा स्वास्थ्य
शीतलहरका बेला अधिकतम तापक्रम औसत भन्दा १० डिग्री सेल्सियस तल र्झ्छ। तराईका लागि यो असामान्य तापक्रम हो। चिकित्सकहरूका अनुसार, स्वस्थ मानिसको शरीरको तापक्रम ९८ डिग्री फरेनहाइट हुन्छ।

९६ डिग्री फरेनहाइटभन्दा कम हुँदा शरीरमा चिसोको असर देखिन थाल्छ। शीतलहरले गर्दा कठ्याङ्ग्रिएर, विभिन्न रोगको संक्रमण बढेर वा न्यानोमा बस्न खोज्दा निस्सासिएर समेत मृत्यु हुने गरेको छ।

चिसोले रक्तनलीहरू खुम्चिने भएकाले यसको सबैभन्दा पहिला छालामा असर पर्छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार, छालाको बाहिरी भागमा फैलिएको रगत चिसोले गर्दा भित्री भागमा पुग्छ। त्यसले नसामा चाप बढाएर आँखा, मुटु, दिमाग र मिर्गौलाका नसा फुट्नेसम्मको समस्या हुन्छ।

वातावरणमा तापक्रम घट्दै जाँदा पैताला, टाउको, घाँटी, छाती र हातबाट शरीरमा चिसो पस्ने डा. रेग्मी बताउँछन्। यसले छाला चिलाउने, सुन्निने, रातो हुने, झाडापखाला हुने, बाथ रोग लाग्ने, जीउ दुख्ने, मानसिक तनाव हुने, सामान्य वा कडा खालको रुघाखोकी लाग्ने, निमोनिया हुने हुन्छ।

मुटु, फोक्सो र दिमागमा असर बढ्दा मृत्यु हुन्छ। “चिसोको बढी असर मुटुमा पर्छ”, डा. रेग्मी भन्छन्, “९४ डिग्री फरेनहाइटभन्दा कम भयो भने शरीरका अंगहरूको नियमित प्रक्रियामा अवरोध भएर मानिसको मृत्यु हुन्छ।” 

मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटक धड्किनुपर्छ। १०० देखि २०० पटकसम्म धड्किंदा मुटुमा चाप बढी हुन्छ। त्यसभन्दा बढी धड्किन थाल्यो भने मुटुमा बढी भार परेर हार्ट अट्याक तथा हार्ट फेल भएर मृत्यु हुने डा. रेग्मी बताउँछन्।

चिसोलाई ब्लड प्रेसर र मस्तिष्कघातको कारक समेत मानिएको छ। स्वास्थ्य मन्त्रालयको भल्नावेरिटी एण्ड एडपटेसन रिपोर्ट (अप्रकाशित) का अनुसार, शीतलहरले गर्दा तराईका २३ जिल्लामा भाइरल फ्लु, कोल्ड डायरिया, खोकी, ज्वरो जस्ता रोग बढेका छन्।

पर्याप्त खाद्यान्न र न्यानो लुगा नहुने परिवारका बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी चिसोको उच्च जोखिममा छन्।

शीतलहरका बेला अघिल्लो रात राम्रै सुतेको मानिस भोलिपल्ट मृत फेला परेका थुप्रै घटना छन्। जस्तो २६ मंसीर राति खाना खाएर राम्रोसँग सुतेकी महोत्तरीको गौशाला नगरपालिका–५ की शलवदेवी सदा (६५) भोलिपल्ट बिहान मृत भेटिइन्।

स्थानीय लालु सदाका अनुसार राति सद्दे अवस्थामै सुतेकी शलवदेवी बिहान ओछ्यानमै मृत भेटिएको हो। शरीरले तापक्रम सन्तुलन गर्न नसकेर त्यस्तो भएको चिकित्सकहरू बताउँछन्। स्वस्थ शरीरले जाडोमा न्यानो उत्पादन गर्छ।

पोषण कम भएका, बिरामी, सुत्केरी, वृद्धवृद्धा, गर्भवती र केटाकेटीमा त्यो क्षमता कम हुन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रहिसकेका डा. बाबुराम मरासिनीका अनुसार चिसोका बेला विभिन्न भाइरस र ब्याक्टेरियाहरू सक्रिय हुन्छन्, जसले पुरानो दम, बाथ, सुगर, उच्च रक्तचापका बिरामीलाई गाह्रो बनाउँछ।

उनका अनुसार, श्वासनलीमा सीधै प्रभाव पार्ने हुनाले लामो समय चिसो लागेपछि शरीरको तापक्रम घटेर ९५ डिग्री फरेनहाइट भन्दा तल र्झ्ने संभावना धेरै हुन्छ। छिट्टै घाम लाग्ने उच्च र मध्यपहाडी क्षेत्रमा वाहेक तराईमा शीतलहरबाट जोगिने उपाय खोज्न ढिलो भइसकेको डा. मरासिनी बताउँछन्।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको वार्डमा चिसोका कारण बिरामीको चाप २० प्रतिशतले बढेको छ। चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्ने जस्ता समस्याले पीडित मानिसहरू बढेको अस्पतालका सूचना अधिकारी रमेश चौधरी बताउँछन्। अस्पतालको बहिरंग विभागमा पनि चिसोका बिरामीको चाप बढेको चौधरी बताउँछन्।

रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई हाइपोथर्मियाबाट जोगाउन बेलैमा सावधानी अपनाउनुपर्ने डा. मरासिनीको सुझ्ाव छ। उनी भन्छन्, “जाडोमा बढी क्यालोरी चाहिने हुनाले कार्बोहाइड्रेड भएको खाना सर्वसुलभ हुनुपर्छ।”

नोक्सान नै नोक्सान

वीरगञ्जको नेशनल ट्रेडिङ चोकमा आगो ताप्दै मजदूर। तस्वीर: सुरेश बिडारी

मानव स्वास्थ्यको अलावा खेतीपाती, पशुपालन, उड्डयन, पर्यटन, शिक्षालगायतका क्षेत्रमा पनि कहर बन्ने गरेको छ, शीतलहर। नेपालमा पछिल्लो चार वर्षमा मौसमी कारणले ९४ वटा दुर्घटना भएका छन्।

नेपाल प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार, आर्थिक वर्ष २०६९/७० मा ४२, २०७०/७१ मा १६, २०७१/७२ मा १९, २०७२/७३ मा १४ र चालू आर्थिक वर्षको मंसीरसम्ममा तीन वटा दुर्घटना मौसमको कारण भएको छ।

२४ मंसीरमा बसेको दैवी प्रकोप व्यवस्थापन समिति, पर्साको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गर्‍यो। चिसो बढेर विद्यार्थी पढ्न आउनै नसक्ने भएपछि विद्यालय बन्द गरिएको हो। बिहान बाक्लो हुस्सुसँगै शीत पर्ने र दिनभरि कुहिरो लाग्न थालेपछि मध्य तराईका बारा, रौतहट जिल्लामा विद्यालय बन्द गरिएका छन्।

सम्बन्धित जिल्ला शिक्षा कार्यालयको निर्देशनमै विद्यालयहरू बन्द गरिएका हुन्। चिसो र शीतलहरका कारण बालबालिका बिरामी पर्न थालेपछि बारा र पर्सामा एक/एक साता र रौतहटमा तीन दिन विद्यालय बन्द गरिएका छन्।

शीतलहरले हिउँदे बालीको उत्पादन पनि घटाएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को अध्ययन अनुसार, सन् २००९ मा तराईको २० हजार ५५७ हेक्टर जमीनमा लगाइएको हिउँदे बालीमा शीतलहरले भारी नोक्सानी पुर्‍याएको थियो।

युएनडीपीको 'आईएसडीआर ग्लोबल एसेसमेन्ट रिपोर्ट अन पोभर्टी एण्ड डिजास्टर रिस्क' शीर्षकको अध्ययन प्रतिवेदनमा नोभेम्बरदेखि फेब्रुअरीसम्मलाई शीतलहरबाट प्रभावित हुने अवधि भनिएको छ।

त्यस अवधिमा शीतलहरले खास गरेर आलु, तोरी र गोलभेडाका बिरुवा सखाप पार्छ। बाली संरक्षण निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत दिनेशबाबु तिवारीका अनुसार, आलु र गोलभेडामा शीतलहरले डढुवा रोग ल्याउँछ। अधिक चिसोले गहुँ, मसुरो, चना, आलस जस्ता हिउँदे बालीमा पनि असर पुर्‍याउँछ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि वनस्पति महाशाखाका वरिष्ठ बाली प्रजनन् वैज्ञानिक हरिकृष्ण उप्रेतीका अनुसार, धेरै दिन घाम नलाग्दा बालीनालीको फोटोसिन्थेसिस् प्रक्रिया रोकिन्छ।

जराले सोस्ने पानी र मल तथा पातले लिने सौर्य किरणबाट बिरुवाहरूले खाना बनाउने प्रक्रिया फोटोसिन्थेसिस् हो, जुन नहुँदा अन्नबाली सप्रँदैन। नसप्रेको बिरुवामा फूल लागे पनि फल लाग्दैन।

चिसोले अन्नबाली सखाप हुने मात्र नभई पशुपक्षीमा पनि ठूलो असर पर्ने गरेको छ। पशु सेवा विभागका अनुसार, कठ्याङ्ग्रिंदो चिसोमा धेरै पाठापाठी, बाच्छाबाच्छी, पाडापाडी, चल्ला मर्छन् भने गाईभैसीले थोरै दूध र कुखुराले कम अण्डा पार्छन्।

“अन्न भण्डार भनिने तराईका जिल्लाहरूमा शीतलहर र घामको अभावले गर्दा हिउँदे बालीनालीको उत्पादन घटिरहेको छ” वैज्ञानिक उप्रेती भन्छन्, “यसबाट बच्ने उपाय खोज्न ढिलो गर्नुहुँदैन।”

त्यस्तै, शीतलहरले गर्दा तराई मधेशका अधिकांश विमानस्थलको हवाई उडानहरू रद्द भएका छन्। त्यसैमध्येको एक हो, सिमरा विमानस्थल।

विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नहुँदा दुई साता नियमित उडान सेवा अवरुद्ध भएको सिमरा विमानस्थलका एअर ट्राफिक कन्ट्रोलर हिरोन साह बताउँछन्। उडान नभएपछि पर्यटन, होटल व्यवसाय मारमा पर्छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठ हरेक वर्ष नोभेम्बर अन्तिम सातादेखि जनवरीसम्म आन्तरिक हवाई तालिका मौसमी कारणले प्रभावित हुने गरेको बताउँछन्।

उनका अनुसार, १५ सय मिटरसम्म भिजिबिलिटी भएन भने उडिसकेको जहाज आकाशमै होल्ड गर्नुपर्ने र कतिपय अवस्था डाईभर्ट गराएर अन्यत्र अवतरण गराउनुपर्ने हुन्छ। यती एअरलाइन्सका मिडिया म्यानेजर भीमराज राई भन्छन्, “उडान रद्द, होल्ड वा डाइभर्ट हुनु भनेको कम्पनीको व्ययभार बढ्नु हो।”

छैन तयारी
हरेक वर्ष जनधनको क्षतिको कारक बनेको शीतलहरसँग जुध्न सरकारले कुनै तयारी गरेको छैन।

मौसम विभागका अनुसार, यस वर्ष पनि १८ मंसीरदेखि बाक्लो कुहिरो लाग्न शुरू भइसकेको छ। त्यसको एक सातामा महोत्तरीमा शलवदेवी सदा र ठीक दश दिनमा सर्लाहीमा उच्चमाया कामीको कठ्याङ्ग्रिएर मृत्यु भयो।

सरकारले भने जिल्ला दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिने बाहेक केही गरेको छैन। जलवायु विश्लेषक ङमिन्द्र दाहाल हरेक वर्ष आइलाग्ने निश्चित भएको शीतलहरको सामना गर्ने तयारी गर्नुको विकल्प नभएको बताउँछन्।

तर, सरकारी तयारी कस्तो छ भने, गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी जिल्लामा आवश्यक निर्देशन दिइसकेकाले आत्तिनु नपर्ने बताउँछन्। उनले जनचेतनाका सामग्री मन्त्रालयको वेबसाइटमा राखिसकेको सगर्व बताए।

२ मंसीरमा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा शीतलहरबाट भूकम्पपीडित र तराई–मधेशमा मानिसहरू बिरामी पर्ने र केहीको ज्यान समेत जानसक्ने उल्लेख छ। मन्त्रालयले बिरामीको उद्धार र जोखिम न्यूनीकरणको व्यवस्था भने गरेको देखिंदैन।

जाडोबाट जोगिने उपाय
जाडो छल्ने क्रममा भएको सामान्य हेलचेक्र्याइँले धेरैको ज्यान गएको छ। कोठा न्यानो बनाउन ब्रिकेट, कोइला, दाउरा, भुस बाल्दा वा हीटर चलाउँदा गन्ध र रङरहित कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइडलगायतका ग्याँस निस्कने कुरामा धेरैको ध्यान पुग्दैैन।

त्यसरी सुतेकाहरू थाहै नपाई मृत्युको मुखमा पुग्छन्। सास लिंदा शरीरभित्र जाने धुवाँले रगतमा अक्सिजन घटाउँछ। सामान्यतः मानिसको रगतमा अक्सिजनको मात्रा ९० प्रतिशत हुनुपर्छ।

निकास विनाको कोठामा धुवाँ हुँदा अक्सिजनको मात्रा घट्छ। त्यस्तो कोठामा सुतेको मानिस रगतमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशत भएपछि लट्ठिन थाल्छ र ७० प्रतिशतमा बेहोश हुन्छ। अक्सिजन त्यसभन्दा पनि घट्दै गएपछि मुटुको धड्कन धेरै धड्किएर बन्द हुने मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन्।

उनका अनुसार, चिसो मौसममा टम्म न्यानो लुगा लगाउने, खुल्ला स्थानमा धेरै नबस्ने, तातोपानी र झोलिलो खानेकुराहरू धेरै खानुपर्छ। गाउँघरमा पाइने गुन्द्रुक, लसुन, अदुवा, भटमास जाडोमा बढी गुणकारी हुने उनी बताउँछन् ।
साथमा सुरेश विडारी, वीरगञ्ज
---------------------------------------------------------

न्यानो क्याप्टेन

डेढ दशकयता गरीबलाई न्यानो बाँडिरहेका क्याप्टेन विजय लामा विदेशमा संकलित कपडा ल्याउन नपाउँदा दिक्क छन्।

नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा १५ वर्ष पहिले रुकुमको सल्ले विमानस्थलमा प्लेन हेर्न आएका महिला र बालबालिकाबाट घेरिए। उनीहरू जसै नजीक भए एकतमासको गन्ध आएको महसूस गरे। उनीहरूले तीनचार महीनादेखि लुगा फेरेका रहेनछन्।

“त्यसपछि सल्ले जाँदा प्रत्येक फ्लाइटमा लुगा लगेर बाँड्न थालें” लामा भन्छन्, “काठमाडौंमा साथीभाइ र आफन्तबाट लुगा संकलन गरेर बाँड्न थालेको त्यही बेलादेखि हो।” 

व्यक्तिगत रूपमा लुगा संकलन गरेर बाँड्न थालेका क्याप्टेन लामाले अहिले 'न्यानोपन' संस्थामार्फत शीतलहर पीडित तराईदेखि हिमालसम्मका गरीब परिवारलाई कम्बल र ब्ल्यांकेट पनि वितरण गरिरहेका छन्। त्यसमा उनले काठमाडौंदेखि विदेशसम्मका व्यक्ति तथा संस्थाहरूबाट सहयोग पाएका छन्। अहिले त 'न्यानोपन' ले ललितपुरको लेलेमा भूकम्पपीडितहरूका लागि १२४ वटा घर पनि बनाउँदैछ।

एकदशक अघिसम्म नेपालको हिउँदे आकाशमा विमान उडाउँदा चहकिलो देखिने तराई क्षेत्र अचेल बाक्लो कुहिरोले डम्म छोपिएर केही नदेखिने, हिमालमा पनि हिउँ घटेर चट्टान बढी देखिने गरेको लामाको अनुभव छ। तराईमा शीतलहरले चिसो बढेर मान्छे मर्ने क्रम बढेपछि 'न्यानोपन' मार्फत सक्दो लुगा संकलन गरेर बाँडिरहेको उनी बताउँछन्। अबको केही दिनमा रौतहटका शीतलहर पीडितलाई लुगा र कम्बल वितरण गर्न लागेको क्याप्टेन लामाले बताए।

पाँच वर्षयता अन्तर्राष्ट्रिय उडान गरिरहेका उनले विदेशस्थित थुप्रै नेपाली र गैर–नेपालीले ठूलो मात्रामा लुगा सहयोग गर्न चाहे पनि भन्सार छूट नहुँदा ल्याउन पाइएको छैन। आफैं विमान चालक भएकाले स–साना पोका मात्र ल्याउन सकिरहेको उनी बताउँछन्।

एकातिर पाएको राम्रो लुगा ल्याउन नसकिरहेको स्थिति छ भने अर्कोतिर हिउँदमा पहाडका झ्याल नभएका साँघुरा घरमा आगो तापेर बस्दा धुवाँले गुम्सिएको वातावरणमा खोकी र दमका रोगी बढेको जानकारी छ। त्यस्तै, तराईमा शीतलहर छेल्ने गरिको घरसमेत नहुँदा मानिसहरू मरिरहेको अत्यासलाग्दो समाचार दिनहुँ आइरहन्छ।

लामालाई लाग्छ, नेपालमा धनीहरू झन् धनी र गरीब झन्–झन् गरीब हुँदै गएका छन्। राज्य संचालक दलहरूको ताल भने अर्कै छ। “यस्तोमा हामी जनताले नै जात, धर्म, क्षेत्रभन्दा माथि उठेर एक–अर्कोलाई सहयोग गर्नुपर्छ”, क्याप्टेन लामा भन्छन्, “तत्काललाई अरू उपाय छैन।”
सञ्जीव शर्मा

 

प्रतिकृया दिनुहोस