परिचयपत्र र सहायताको पर्खाईमा शरणार्थी
परिचयपत्र र सहायता नपाएका भुटानी शरणार्थीले नेपाल सरकारसँग तत्काल परिचयपत्र र सहायता मागेका छन् ।
११ पुषमा शरणार्थी समन्वय एकाईका निर्देशक तथा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई त्यस्ता भुटानीहरुको समूहले तत्काल राहत र परिचयपत्रको ब्यवस्था नगरे उनीहरु मानवीय संकटको शिकार हुने बताएका छन् ।
प्रजिअ खत्रीलाई ज्ञापनपत्र दिँदै बेलडाँगीकी एकजना शरणार्थी सनमाया गुरुङले भनिन्, “मेरा अभिभावक र आफन्तहरु युरोप अमेरिका पुगिसके, म भने परिचयपत्र नपाएर यतै भौतारिएकी छु ।”
दशकअघि एकजना नेपाली पुरुषसँग बिहेभएकी सनमाया लोग्नेले् छोडेपछि सन् २०१३ देखि बेलडाँगी ३ शरणार्थी शिविरमा छन् । उनीसँग शरणार्थी परिचयपत्र नहुँदा शरणार्थीले पाउने सेवा–सुविधाबाट वञ्चित हुनुपरेको छ ।
राष्ट्रसंघीय राहतको भरमा परिवार पाल्न धौ धौ भएपछि शिबिर बाहिरको श्रम बजारमा गरिखान र पढन गएका भुटानीहरु नेपाल सरकारको शरणार्थी समन्वय एकाईले दर्ताको काम गरेका बखत शिबिरमा अनुपस्थित भएको स्विकार्दै उनले भनिन्, “हामी परिस्थितबस् दर्ताको बखत त्यो वेला छुट्यौं, तर गैह्रभुटानी होइनौं ।”
शरणार्थी परिचयपत्र नपाएका अर्का शरणार्थी ओम सापकोटा सन् २००५देखि आठ बर्षसम्म भारतको बनारसमा हिन्दु बैदिक ज्ञान र पूर्वीय संगीत अध्ययन गरिरहेका थिए ।
उनले नेपालमा त्यो समयमा जारी सशस्त्र द्वन्द्व र पढाईको कारण बारम्बार नेपाल आउन नसक्दा शिविरमा भएको प्रशासनिक प्रकृयामा सामेल हुन नसकेको बताए ।
आफन्तहरु अमेरिकाका बिभिन्न शहरमा पुगिसकेको बताउने अर्का शरणार्थी ऋतु विश्वकर्मा भन्छन्, “त्यसबेला शिविरमा प्राप्त हुने सहायता सामग्रीले खानलाउन नपुग्ने हुँदा हामी पसिना बेच्न नेपालका बिभिन्न ठाँउमा गयौं, जसकारण पहिले दर्तामा छुट्यौं ।”
गुनासो सुनेपछि प्रजिअ खत्रीले उनीहरुको माग नेपाल सरकार समक्ष पुर्याउने प्रतिवद्धता ब्यक्त गरे । उनले शिविरमा सहायताबिहिन अवस्थामा मानिसहरु रहनु दुखद भएको् बताए ।
गृहमन्त्रालय अन्तरगतको शरणार्थी समन्वय एकाईले पछिल्लोपटक सन् २०१२मा एकहजार आठसय भुटानी शरणापेक्षीलाई शरणार्थी दर्ता गरि परिचयपत्र दिएको थियो ।
झापा र मोरङका भुटानी शरणार्थी शिविरमा एकहजार ७४१ जना यस्ता परिचयपत्र बिहीन भुटानी छन् । उनीहरु प्राय शिबिर बाहिरको श्रम बजारमा मजदुरी गरेर पेटपालो गरिरहेका छन् । कतिपयलाई पुनर्वास भइसकेका आफन्तले आर्थिक सहयोग समेत गर्ने गरेको पाइएको छ ।
सन् १९९० आसपासका वर्षहरुमा भुटानमा भएको सरकारी दमनका कारण खेदिएर नेपालमा शरणगत बन्न पुगेका करिव सवालाख भुटानी शरणार्थीमध्ये एकलाख दुईहजार पुनर्वासमा अमेरिका, युरोप र अष्टेलिया पुगिसकेका छन् । शिबिरमा बाँकी करिब १३ हजार शरणार्थी मध्ये करिव नौहजार पुनर्वासको प्रकृयामा सामेल भएको बताइएको छ ।
भुटानी शरणार्थीको पुनर्वास सन् २००८ मा शुरु भएको हो ।
गोपाल गडतौला, झापा