निःशुल्क मिर्गौला परीक्षण सेवा लिन आग्रह
स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्थानीयस्तरमै निःशुल्क मिर्गौला परीक्षणको व्यवस्था गरिएकाले तत्काल परीक्षण गर्न सबैलाई आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कार्यक्रममा मन्त्री थापाले मिर्गौला परीक्षणका लागि प्रयोग हुने ‘डिपिस्टिक किट’ सबै जिल्लामा पठाइसकिएकाले त्यसको उपयोग गर्न सबैलाई आह्वान गरे ।
हरेक छ÷छ महिनामा मिर्गौला परीक्षण गर्नुपर्ने भए पनि नेपालमा धेरैले परीक्षण नगरेकाले गाउँ गाउँमा परीक्षणको व्यवस्था गरिएको उनले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत, आपूर्ति व्यवस्थापन महाशाखाले गत कात्तिकको दोस्रो साता नै देशभरि पहिलो चरणमा २० लाख जनाको मिर्गौला परीक्षण गर्न पुग्ने गरी किट पठाइसकेको छ । आवश्यकतानुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाइ छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकतानुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाइएको महाशाखाका निर्देशक भीमसिंह टिंकरीले जानकारी दिनुभयो । सो अवसरमा १३२ पत्रकारको मिर्गौला परीक्षण गरिएकामा सात जनामा सामान्य समस्या देखिएकाले थप उपचारका लागि परामर्श दिइएको थियो ।रासस