तिवारी हत्या प्रकरण झनै रहस्यपूर्ण
दीपक ज्ञवाली, बुटवल
रूपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या राजनीतिक स्वार्थप्रेरित रहेको आशंका बलियो बन्दैछ ।
“अब जिल्लामा हत्या, हिंसा बन्द हुनेछन्”, २८ मंसीरमा बुटवलमा पत्रकारसामु हौसिरहेका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र सिंह धानुकको दाबी एक साता पनि टिकेन । ४ पुसमा देवदह, बुटवलमा दिनदहाडै एमाले निकट युवा संघ रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भयो । मोटरसाइकलमा सवार तिवारीलाई मोटरसाइकलमै आएका युवाले गोली प्रहार गरे ।
संविधान संशोधनमार्फत प्रदेश–५ को सीमा हेरफेर गर्न खोजिएको विरोधमा बुटवलमा चलेको आमहड्ताल टुंगिएको भोलिपल्टै तिवारीको हत्या भएको थियो । तिवारी पनि प्रदेश विभाजन विरुद्धको आन्दोलनमा सक्रिय थिए । प्रहरीका अनुसार, २० फागुन २०७२ मा पनि तिवारीको हत्या प्रयास भएको थियो ।
हत्यालगत्तै मलेशियाबाट मनोज पुन बोलेको बताउने एक व्यक्तिले प्रहरी, स्थानीय युवा र केही सञ्चारमाध्यममा फोन गरी हत्याको जिम्मेवारी लिए । त्यसैको आधारमा रूपन्देही प्रहरीले मुख्य अभियुक्त भन्दै पुनकै तस्वीर सार्वजनिक गर्यो ।
तिवारीसँग पुनको तिक्तता, यसअघिको हत्या प्रयासमा संलग्नता र टेलिफोनमा हत्या स्वीकार जस्ता आधारमा प्रहरीले पुनलाई नै दोषी ठानेको थियो ।
तर, युवा संघ यसलाई सहजै स्वीकार्न तयार भएन । ठोस अनुसन्धानविनै प्रहरीले घटना सामसुम बनाउन खोजेको भन्दै युवा संघले आपत्ति जनाएपछि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ ।
“शून्यबाट अनुसन्धान अघि बढाएका छौं, केही अनौठा परिदृश्य देखिइरहेका छन्”, रूपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डे भन्छन् । युवा संघको आन्दोलन चर्किएपछि गृह मन्त्रालयले एआईजी विज्ञानराज शर्माको नेतृत्वमा छानबीन समिति पनि गठन गरेको छ ।
यता युवा संघले पनि आफ्नै छानबीन समिति बनाएको छ । हत्यामा पूर्व प्रहरी र सेनाको संदिग्ध समूहको संलग्नताको चर्चा पनि चलेको छ ।
रूपन्देहीमा युवा संघका कार्यकर्ता मारिएको यो पहिलो घटना भने होइन । १३ चैत २०६५ मा पनि बुटवलमै युथ फोर्सका कार्यकर्ता प्रचण्ड थैवको हत्या भएको थियो । हत्यामा संलग्न माओवादी कार्यकर्ता सुजित बिक अहिले पनि जेलमा छन् ।
तिवारी–पुन ‘कनेक्सन’
तिवारी हत्यामा आफ्नो संलग्नता स्वीकार गर्ने मनोज पुन (मनोज बुढामगर) अरू कोही नभई पाँच वर्षअघि तत्कालीन युथ फोर्स (अहिलेको युवा संघ) कै कार्यकर्ता थिए । र, उनलाई स्वयं तिवारीले नै संगठनमा भित्र्याएका थिए । दुवैको घर देवदह नै हो ।
थैवको हत्याअघि पुन वाईसिएलका कार्यकर्ता थिए । त्यसपछि उनी तिवारीकै पहलमा युथ फोर्समा प्रवेश गरे । र, १ नम्बर क्षेत्रीय कमिटीको कोषाध्यक्ष समेत बने ।
तर युथ फोर्सका नाममा आपराधिक गतिविधि बढाएको आरोपमा उनी एक वर्षपछि नै संगठनबाट निष्कासनमा परे । आफू निकालिनुमा तिवारीको हात रहेको भन्दै पुन रुष्ट देखिन्थे । तीन वटा आपराधिक घटनाको अभियोग लागेका पुन प्रहरीको फरार सूचीमा छन् ।
१० महीनाअघि तिवारीको हत्या प्रयास गर्दै गोली हान्ने समूहमा पुनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ । उक्त घटनामा पुनसहित अन्य ८ जनाको सहभागिता रहेको भन्दै तिवारीले किटानी जाहेरी पनि दिएका थिए । तर, गत जेठमा अन्य सबै पक्राउ परे पनि पुन फरार रहे ।
उनी भारतका विभिन्न शहरमा बसी नेपालमा आपराधिक गतिविधि चलाइरहेको प्रहरीको दाबी छ । घटना हुनुअघि पुनले तिवारीसँग रु.२० लाख मागेको तर नपाएपछि हत्या गरेको हुनसक्ने पनि प्रहरीको अनुमान छ ।
विद्यार्थी राजनीतिबाट आएका तिवारी ६ वर्ष वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया बसेर ७ वर्षअघि जिल्ला फर्केका थिए । उनले देवदहमा ईंटा उद्योग पनि सञ्चालन गरिरहेका थिए ।