टिप्पणीआइतवार, पौष १०, २०७३

बिरामी शहर

शेखर खरेल


विकासका नाममा भइरहेको अनियन्त्रित शहरीकरण, सवारी चाप र प्रदूषणका कारण काठमाडौंले आफ्नो जीवन्तता गुमाइरहेको छ ।

अघिल्लो वर्ष भारतीय नाकाबन्दीका कारण पेट्रोलियम इन्धनको आपूर्ति ठप्प भएपछि दाउरा बाल्नुपर्दा धुवाँमा रङमङिएको काठमाडौं वर्ष दिन नपुग्दै फेरि धूलोमा पुरिएको छ ।

बहुप्रतीक्षित मेलम्चीलाई स्वागत गर्न सडकसँगै पेटीमा पाइप विछ्याउने उद्देश्यले जुन तदारुकताका साथ खन्ने काम भइरहेको छ, त्यो देख्दा काठमाडौं शहर कम, खेत बढी जस्तै लाग्छ ।

विकासका नाममा राजधानी शहरले खेप्दै आएको विनाशको श्रृंखला अन्त्यहीन देखिन्छ । एकीकृत र समन्वयकारी विकास पहलको अभावमा वर्षामा हिलो र हिउँदमा धूलोसँग पौंठेजोरी खेल्नु राजधानीवासीको नियति नै बनिसकेको छ ।

बढ्दो जनघनत्व र सवारी चापका कारण उसै त खुम्चिएका सडकपेटी समेत खनिएपछि नगरवासी थप कष्ट झेल्न विवश छन् ।

हरेक शताब्दीमा आइरहेको भूकम्प बाहेक काठमाडौं उपत्यका विश्वका अन्य राजधानी शहरहरू जस्तै प्राकृतिक विपत्तिमा पर्दैन । त्यसकारण पनि, यहाँका सम्पूर्ण संरचनाको भूकम्पीय दृष्टिले उचित निर्माण प्रक्रिया अवलम्बन गरे मात्र पनि यसखाले विपत्को जोखिम न्यून गर्न सकिन्छ । तर, काठमाडौंवासीको कहरको अन्त्यहीन श्रृंखलाका लागि सरकार बढी र नागरिक स्वयं केही हदसम्म जिम्मेवार छन् ।

खोलानाला, राजकुलो, पोखरी, ढुङ्गेधारा, पाटी, सत्तल, चौर आदिले सुसज्जित काठमाडौं प्राकृतिक तथा मानवीय दुवै दृष्टिले विश्वको अब्बल शहर रहेको तथ्य विदेशी अनुसन्धानकर्ता, विद्वान् र विज्ञहरूले वर्णन गरेका छन् । तर, कान्तिपुर नगरीको विगतको कान्ति वर्तमानमा कान्तिहीन र आगतमा कहालीलाग्दो देखिन्छ ।

यसो हुनुमा शासकको अल्पदृष्टि र अकर्मण्यता मुख्य हो भने, स–सानो लाभका लागि पनि शहरको कान्तिको हुर्मत लिन तम्सने नगरवासी पनि यसका सहायक हुन् ।

कान्तिपुरी नरक एक्सप्रेस
अनियन्त्रित शहरीकरणका सह–उत्पादन फोहोर, सवारी साधनको उपज वायु प्रदूषण र अनुत्तरदायी निर्माण प्रक्रियाले काठमाडौं ‘मृत शहर’ बन्नेतर्फ उन्मुख छ ।

शहरमा बढेको वायु प्रदूषणका कारण प्रातः भ्रमण (मर्निङ वाक्) समेत श्वास–प्रश्वासका दृष्टिले अत्यन्त जोखिमपूर्ण रहेको चेतावनी विज्ञहरूले दिएका छन् ।

सघन बस्तीका सडक विस्तार, कालोपत्रे सडक र सिमेन्ट ब्लक विछ्याइएका पेटीमा मौसम र सरकार बदलिएसँगैका खनन्–उत्खनन्ले शहरवासीको फोक्सोको एकपछि अर्को परीक्षा लिंदै आएका छन् ।

तर, नयाँ संरचना निर्माणसँगै पूरा गरिनुपर्ने पर्यावरणीय सन्तुलनको जिम्मेवारीबाट भने शासक, नीतिनिर्माता धेरै पर छन् । उदाहरणका लागि, अग्लो ठाउँबाट हेरिंदा जीवन धमनी जस्ता देखिने चक्रपथका हरिया रूखहरू सडक विस्तारका नाममा ढालिए । तर, तिनको शोधभर्ना हुने गरी नयाँ वृक्ष रोपिएनन् । सडक विस्तारकै काम पनि तोकिएको समयमा पूरा नहुँदा सडक धूलो र धुवाँका कारखानाझैं बनेका छन् ।

चीन सरकारको सहयोगमा निर्माणाधीन कलङ्की–कोटेश्वर सडक खण्ड यात्रा गर्ने जो कोहीले जीवनकालमै ‘नरक यात्रा’ को अनुभव लिन सक्दछ ।

सुनिन्छ, चिनियाँ ठेकेदार काम नसकी अलप भए रे, तर त्यस्ता ठेकेदारलाई कारबाही गरिएको सुन्न पाइएको छैन ।

उर्लंदो सवारीको चापले राजधानीलाई धुवाँ नगरीमा परिणत गरेको छ । यातायात व्यवस्था विभागको आँकडा अनुसार कुल १ हजार ५९४ किलोमिटरमा सीमित उपत्यकाका सडकमा दैनिक नौ लाखभन्दा बढी सवारी साधन गुड्छन् । दिन प्रतिदिन नयाँ सवारीसाधन थपिने क्रम पनि जारी छ ।

विभागसँग चालू आर्थिक वर्षमा मात्रै ११ हजार चारपांग्रे र ५५ हजार दुईपांग्रे सवारी साधन शहरमा थपिएको रेकर्ड छ । तर यति धेरै संख्यामा सवारी साधन रहेको राजधानीमा सार्वजनिक सवारी साधनको अवस्था झनै नाजुक छ ।

बेलुकी सात बजेपछि शहरमा ठूला आकारका सार्वजनिक सवारी साधन उपलब्ध नहुने हुँदा यात्रुहरू पैदल हिंड्न वा चर्कोमा ट्याक्सी चढ्न बाध्य छन् ।

सार्वजनिक सवारीको अव्यवस्थाकै परिणति हो, निजी सवारीको बढ्दोे प्रयोग । जसका कारण, हिजो कार्यालय समयमा मात्र जाम हुने सडक अब दिनभरि नै अवरुद्ध हुन थालेका छन् ।

यसबाट सिर्जित वायु र ध्वनि प्रदूषणले राजधानीलाई क्यान्सर झै लपेट्दैछ । शहरमा जुन रफ्तारमा प्रदूषण बढ्दै गइरहेको छ, त्यसलाई समयमै सम्बोधन गर्न नसकिए काठमाडौं निकट भविष्यमै भारतको राजधानी नयाँदिल्लीको पंक्तिमा उभिइने चेतावनी विज्ञहरूले दिएका छन् ।

खानेपानी र ढलका नाममा खनिने शहरका सडक र पेटी अनि समयमै पूरा नहुने सडक निर्माण र विस्तारका आयोजना हेर्दा लाग्छ; राजधानी त्यस्तो गम्भीर बिरामी हो, जसका शल्यचिकित्सक बिरामी चिरेपछि सिउन छाडेर अन्तै अलप भएका छन् ।

मास्कले नाक छोप्दै र आँखा मिच्दै बाटो हिंडिरहेका शहरका नरनारी देख्दा लाग्छ, उनीहरू कुनै युद्धमैदानमा छन्, जसले आफ्नो स्वास्थ्य दाउमा राखेका छन् ।

प्रतिकृया दिनुहोस