ऊर्जामा उर्वर पूर्व
जलस्रोतको धनी पूर्वी पहाडी जिल्लाका नदीखोलाबाट विद्युत् उत्पादनको होडबाजी नै चलेको छ।
निर्माण भइरहेका र अध्ययन सकिएका आयोजनालाई मात्र हिसाब गर्ने हो भने पनि मेचीका इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाबाट १ हजार ४५५ मेगावाट जलविद्युत् उत्पादन हुनेछ। जसमध्ये ६९३ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन छन् भने ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको अध्ययन सम्पन्न भएको छ।
सबै आयोजनाले तोकिएकै क्षमताको विद्युत् उत्पादन गर्ने हो भने प्रदेश नम्बर १ का १४ जिल्लाले जलविद्युत्बाटै आत्मनिर्भर बन्ने सम्भावना देखेका छन्। “एक्लो तमोर आयोजना बनाउने हो भने पनि पूर्व झ्लमल्ल हुन्छ, प्रदेश पनि धनी हुन्छ”, तमोर जलाशययुक्त आयोजना सरोकार समितिका संयोजक पूर्व सांसद् बसन्तकुमार नेम्वाङ भन्छन्।
त्यसो त अहिलेसम्म इलाम र पाँचथरमा सञ्चालित आयोजनाहरूबाट ६१.४ मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको छ। आयोजना निर्माणको रफ्तारलाई हेर्दा तीन जिल्लाबाट मात्र यो वर्ष ८० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा थपिने देखिन्छ।
निर्माणाधीनमध्ये पाँचथरका भारपा र याङनामको सीमावर्ती हेंवा खोलामा निर्मित १४.९ मेगावाट क्षमताको हेंवा ए जलविद्युत् आयोजनाले ११ मंसीरदेखि उत्पादनको परीक्षण थालेको छ। आयोजनाका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगाना १५ पुसबाट औपचारिक रूपमा विद्युत् उत्पादन थालिने बताउँछन्। यस क्षेत्रको विद्युत् उत्पादनलाई केन्द्रीय प्रसारणमा जोड्न काबेली करिडोर प्रसारण लाइन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।
हेंवा खोलामै निर्माणाधीन हेंवा बी आयोजनाले पनि असार मसान्तभित्र २२ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दैछ। पाँचथरकै काबेली बी वान विद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन भई यसै वर्ष केन्द्रीय प्रसारणमा जोडिंदैछ।
करिडोरका प्रमुख दीपेन्द्रराज द्विवेदी पाँचथरबाट ६२, इलामबाट १३, ताप्लेजुङबाट उत्पादन हुने ५ सहित ८० मेगावाटसहित थप १३ मेगावाट क्षमताको बिजुली केन्द्रीय प्रसारण लाइनमा यो वर्ष जोडिने बताउँछन्।
मेचीसहित कोशी र सगरमाथाका पहाडी जिल्लाहरूमा हाल ३७ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। प्राधिकरणसँग विद्युत् खरीद सम्झौता भइसकेर सोलुखुम्बुमा निर्माण भइरहेका विभिन्न आयोजनाबाट ३१५ मेगावाट, संखुवासभाबाट ४५ मेगावाट, खोटाङबाट ७ मेगावाट, ओखलढुंगामा ७ मेगावाट, तेह्रथुममा ४ मेगावाट, भोजपुरबाट २ मेगावाट र मोरङबाट १ मेगावाट विद्युत् उत्पादन गरिने योजना छ।
तमोर जलाशयमा जोड
सके सरकारले नसके निजी क्षेत्रबाट लगानी भित्र्याएरै भए पनि तमोर जलाशययुक्त आयोजना थाल्न सरोकारवालाले दबाब दिन थालेका छन्। पाँचथरको स्याब्रुम्वा र तेह्रथुमको ओख्रे गाविसलाई सीमाना छुट्याएर बगेको तमोर नदीबाट ७६२ मेगावाट विद्युत् उत्पादन गर्न सकिने नेपाल विद्युत् प्राधिकरणको अध्ययन प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले आयोजनाबाट वार्षिक ३ अर्ब ३३ युनिट विद्युत् उत्पादन गर्न सकिने जनाएको छ।
तमोर आयोजनाले प्रदेश १ का प्रत्येक घरमा विद्युत् आपूर्ति गर्नुका साथै मुलुकको ऊर्जा संकट न्यूनीकरणमा पनि टेवा पुग्ने आयोजना सरोकार समितिका संयोजक नेम्वाङ बताउँछन्।
लक्ष्मी गौतम, पाँचथर