विमान अपहरण गर्नेलाई जन्मकैद गर्ने ऐन बन्दै
विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन बनाउने तयारी गरेको छ ।
मन्त्रालयले छलफल र सुझावका लागि सार्वजनिक गरेको नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्यौदामा जन्मकैदको व्यवस्था गरिएको छ ।
मुलुकको हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन नागरिक उड्डयन सम्बन्धी रहेका कानूनलाई एकीकृत गरी ऐन बनाउने मन्त्रालयको उद्देश्य अनुरुप ऐनको परिमार्जित अन्तिम मस्यौदा सार्वजनिक गरिएको हो । मन्त्रालयले सुझाव सङ्कलनका लागि आफ्नो बेवसाइटमा राखेको छ ।
ऐनमा अनुमति नलिइ वायुयान अनधिकृत रूपमा नेपाल प्रवेश गरे एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।
प्रस्तुत मस्यौदाको परिच्छेद १२ को कसुर तथा सजाय अन्तर्गतको ७३ औँ बुँदामा यस्तो व्यवस्था गरिएको छ । ऐनको परिमार्जित मस्यौदाबारे सुझाव ‘अपडेट’ गर्ने काम भइरहेकाले यथाशीघ्र ऐनको रुपमा ल्याइने पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले बताए ।
सहसचिव उपाध्यायका अनुसार मूलुकसङ्घीय ढाँचामा जाने हुदाँ त्यसअनुरुपको नागरिक उड्डयन नीति आवश्यकपर्ने तथा अन्तर्राष्ट्रिय हवाई उड्डयन सङ्गठन (आईकाओ) को निर्देशनअनुसार ऐन बनाउन लागिएको हो ।
ऐनमा हवाई क्षेत्रमाथिको सार्वभौमिकता तथा उपयोग, हवाई सेवा उद्योग सम्बन्धी व्यवस्था, वायुयान सञ्चालन सम्बन्धी व्यवस्था, नागरिक उड्डयन प्राधिकरणको काम, कर्तव्य र अधिकार, सेवा प्रदायक संस्था स्थापना सम्बन्धी व्यवस्था, वायुयान दुर्घटना छानबिन सम्बन्धी व्यवस्था, हवाई सुरक्षा सम्बन्धी व्यवस्था, विमानस्थल सम्बन्धी व्यवस्था लगायतका प्रावधान छन् ।
सरकारले कुनै पनि उड्डयन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नसक्ने र अनधिकृत रुपमा हवाई क्षेत्रमा प्रवेश गरेको वायुयानलाई उपयुक्त कारबाही गर्नसक्ने छ ।
वायुसेवा कम्पनीले सरकारले तोके बमोजिमको यात्रु र तेस्रो पक्षीय दायित्व समेतको बिमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको ऐनले छुट्टै हवाई सुरक्षा संस्था स्थापना गर्नसक्ने अधिकार समेत प्रदान गरेको छ ।
नेपाल सरकारको स्वीकृति लिई सरकारी वा निजी संस्थाले विमानस्थल निर्माण, विकास र संचालन गर्न पाउने ऐनमा व्यवस्था छ । यो व्यवस्था लागू भएसँगै सेनाले सिन्धुलीको भिमानमा निर्माण तथा सञ्चालन गर्ने भनिएको विमानस्थलका लागि बाटो खुला भएको छ । वातावरण संरक्षण र ध्वनिको मात्रा निर्धारण गर्ने ऐनमा व्यवस्था गरिएको छ ।
यस अघि नागरिक उड्डयन ऐन २०१५ लाई परिमार्जन गरी नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ बनाइएको थियो ।