टिप्पणीशनिवार, पौष ९, २०७३

नेपाललाई अँचेटिराख्ने दाउ (इतिहास)

ज्ञानमणि नेपाल

राणाकालकै पनि प्राइमिनिष्टरहरू विदेशीसँग नेपालको अधिकार जताएर बात गर्थे, अहिलेकाहरू त आदेश शिरोपर गर्न अघि सर्छन्।

संवत् १६१६ मा गोरखा राज्य स्थापित भएको हो। १२ हजार घरधुरीको सानो राज्य गोरखाको न भोटसँग बेपार थियो न उब्जाउ तराई। पहाड मात्र भएको सानो राज्य हुँदा गोरखाका जनताले जीवननिर्वाह गर्न ज्यादै संघर्ष गरिरहनुपर्थ्यो, वीर/बहादुर बन्नुपर्ने बाध्यता थियो।

गोरखाका राजा रामशाहले ६ थरी भारदार (अर्जेल, पाँडे, पन्त, खस, मगर र गुरुङ) को बलियो समूह बनाई अनेकौं थिति–बन्दोबस्त बाँधेर नाम मात्र चलाएनन् हिमाली साम्राज्यको चक्रवर्ती (गिरिराजचक्रचूडामणि) बन्ने महत्वाकांक्षा पनि जगाए।

यी वीर/बहादुर ६ थरी भारदारको शक्तिशाली शासक समूहको भारदारी शासन उन्नाईसौं शतकको ६ दशकसम्म कायम रह्यो। यो परम्परा चलुन्जेल नेपाल उन्नतिको शिखर चढ्दैथियो, अजय पनि बन्दैथियो।

रामशाहकै वंशज पृथ्वीनारायण शाहले नेपालको एकीकरण साकार पार्न भरमग्दुर प्रयास गरे। ३२ वर्षसम्मको अनवरत मिहिनेतबाट पृथ्वीनारायणले नेपाल दूनका तीन मल्ल राज्य र पूर्वका तीन सेन राज्य जितेर भोटको बेपार हात पारे।

तराईको उब्जाउ भावर प्रदेश समेत जोडेर अझ बलियो र विस्तृत राज्य बनाउन लाग्दालाग्दै असमयमै उनी बितिगए। उनका उत्तराधिकारी राजा न शक्तिशाली भए न त दीर्घजीवी नै।

पृथ्वीनारायणका नाबालक नाति रणबहादुर गद्दीनसीन हुँदा उनका काका नायव बनेर ६ थरी भारदारको संघटन बलियो बनाएर बाबुले थालेको एकीकरण अभियानलाई तीव्र पारे।

बाईसी, चौबीसी, कुमाउ, गढवाल राज्य जितेर गङ्गापार पुर्‍याई यमुना साँध लगाएर गङ्गोत्तरी, यमुनोत्तरीसम्मका चारधाम पनि नेपालमै मिलाए।

६ थरी भारदारको अथक् प्रयत्नले नेपालको सीमा ६ दशकसम्म पूर्वमा टिष्टा र पश्चिम सतलज पारिसम्म पुग्यो। यसरी पृथ्वीनारायण जस्ता विजिगीषु (विजयको इच्छा गर्ने) राजा, बहादुर शाह जस्ता षाड्गुण्यपारङ्गत (राजनीतिका ६ वटै गुणमा पारङ्गत) र सुझबुझ भएका नायव र त्यस्तै सुझबुझ भएका ६ थरी भारदारको जमघटबाट नेपाल एकीकरण सम्पन्न भएको हो।

उन्नाईसौं शतकको छैटौं दशकसम्म नेपालको सर्वतोमुखी उन्नति हुँदै आएको थियो। नेपाली शूरवीर सैनिकहरूको ठूलो संघटन जमेको थियो। तिनलाई चाहिने हातहतियारको कारखाना आफ्नै देशमा खुलेको थियो। चाहिने बारुद, बन्दूक, तोपगोला आफ्नै कारखानामा तयार हुन्थे।

दुर्भाग्यवश, पछिल्लो समयका दुःशासनी राजाको चालामाला, राज्यव्यसन र आन्तरिक कलहले साधिएका युद्धकुशल भारदार मासिएर अनुभवहीन शासकका हातमा बागडोर पर्दा नेपाल राज्य लथालिङ्ग भयो।

पृथ्वीनारायण शाहको पालामा लखनौबाट नुवाकोट दरबारमा ल्याइएका तीन जना मुसलमान कालिगड बन्दूक, बारुद, गोलीगट्ठा बनाउन सिपालु रहेछन्।

तीनै जनालाई अजिटन (सैनिक पद) दिएर राखिएको थियो। तिनैबाट अंग्रेजको जस्तै तिलङ्गा पल्टन जमाएर एक सय बन्दूकी पल्टन तयार पारिएको थियो। सैन्यमा खस, मगर, गुरुङ, ठकुरी चार जातका जवान भर्ना गरिन्थे। यो परम्परालाई बहादुर शाहपछिका शासकहरूले पनि कायम गरेका थिए।

नायव बहादुर शाहले त तोप, बन्दूक, बारुद बनाउने ठूलो कारखाना खोलेका थिए। हातहतियार बनाउने इलम सिकाउने र पल्टनलाई तालीम दिने भनी मुसद्दिन पेशी भन्ने व्यक्तिलाई सरदारी मान र महीनावारी रु.५०१ तलब दिएर राखिएको थियो।

कारखानामा हतियार तयार पार्ने, पल्टनलाई कवाज खेलाउने काम दिनका दिन चलिरहन्थ्यो। पल्टनको हाजिर लिने, चुकविराम गर्नेलाई तागिता वा दण्ड–शासना गर्ने जिम्मा सरदारकै हुन्थ्यो। युद्धका सबै काममा तागिता रही सबै सामान रुजु राख्नुपर्थ्यो।

हतियार कारखानामा नेवार, पर्वते छ्यासमिस राखिन्थे। इलम बढी जान्नेलाई बढी तलब दिइन्थ्यो। राम्रो काम गर्नेको तरक्की हुँदै जान्थ्यो। अल्छी, कामचोर, झगडालु कर्मचारीलाई तक्सीर हेरेर दण्ड–शासना दिइन्थ्यो। निकाला पनि हुन्थ्यो।

गर्मीमा बिहान चार घडी र जाडोमा ६ घडी दिन चढ्दा कर्मचारीको हाजिर लिइन्थ्यो। साँझ् पर्दासम्म काममा सजु रहनुपर्दथ्यो। पर्वते कालिगडले दशैंमा ९ दिन र नेवार कालिगडले ४ दिन छुट्टी पाउँथे।

गुठी, जात्राहरूमा पनि छुट्टी हुने हुँदा वर्ष दिनमा नेवारको २७ दिन पुग्थ्यो भने पर्वतेको २४ दिन। यसरी उन्नाईसौं शतकको छैटौं दशकसम्म नेपालको समृद्धि दिनपरदिन बढ्दैथियो।

लडाइँ–भिडाइँ पनि चारैतिर चलिरहेको थियो। हातहतियार कारखाना अनवरत चलिरहेका थिए, सैनिक संख्या बढिरहेको थियो। कालिगड, सूचिकार र चर्मकारहरूलाई भ्याईनभ्याई थियो।

कामीहरू खुँडा, खुकुरी, तरबार, भाला, बर्छा आदि हातहतियार बनाउँदा बनाउँदै फुर्सत पाउँदैनथे। पाले, पिपा, पिउन, भरियाहरू पनि बेफुर्सदिला हुन्थे। तर; जब साम, दाम, दण्ड, भेदको भेउ नपाएका आलाकाँचा शासकको हातमा नेपालको शासन भार आयो, तब देश लथालिङ्ग भयो।

आफूभन्दा शक्तिशाली बनिसकेको ब्रिटिश साम्राज्यसँग जुध्दा 'हात्तीसँग पहलमानी खेलेजस्तो' भयो। ७० वर्ष लाएर जितेको हिमाली साम्राज्य नेपालको पूर्व–पश्चिम धेरै भूभाग हरियो। वीर/बहादुर नेपाली वृत्तिविहीन भए। लाहुरे भएर कति विदेशिए। सूचिकार, शिल्पकार, कालिगडहरू वृत्तिविहीन भएर विदेशिए।

सुगौली सन्धिपछि नेपालले ब्रिटिश सरकारले खटाएर दिएका हतियार किनेर ल्याउनुपर्‍यो। चन्द्रशमशेरले चाहिए जति हतियार किनेर लिन पनि मगन्ते जस्तो दयापात्र बन्नु परेको बेखुशी ब्रिटिश विदेश सचिवसँग प्रकट गरेथे।

यो राणाकालको कुरा भए पनि उसवेलाका नेपालका प्राइमिनिष्टर औंलो ठड्याउँदै आफ्नो अधिकार जताएर बात गर्न सक्थे। अहिलेका प्रधानमन्त्रीहरू आफ्नो बात सम्झाउन होइन, आदेश शिरोपर गर्न अघि सर्छन्।

अधिकार जताउन थाले देशैले त्यसको नसिहत बेहोर्नुपर्छ। स्वतन्त्र नेपालले भारतबाट तीन–तीन पल्ट विना हतियारको नाकाबन्दीरूपी युद्धको नसिहत बेहोर्नु परिसक्यो। अब त नेपाली नेताहरू सचेत हुनुपर्ने होइन र!


श्री ३ चन्द्रशमशेर र विदेशसचिव कर्णेल हालैण्डका बीच परिसंवाद्

सम्बत् १९७६ साल वैशाख १ गते रोज १

क. हाल्याण्ड– मेरो मनमा केही छ जस्तो लाग्दैन.

श्री ३– हातहतियार कलहरू इंडियाको बाटो झिकाउने कुरामा बृटिश सरकार तरफबाट हामीलाई राम्रो तवरसंग व्यवहार भयाको छैन. चाहिदो मुनासिव माफिकको कल हातहतियार सामानहरू झिकाउन दिने कबुल गरी लार्ड ल्यान्स डाउनले खरिता पठाउनु भयाको थियो. झिकाउन लाग्दा बहापछिका भाइसरायलाई येलियनले मुनासिब माफिकमात्र झिकाउनु पर्छ भंने यस्तै कुरा झिकी चाहियाको माल झिाकाउन दियेनन्.

हामीले हातहतियार कल सामान झिकाई तपाईहरूसंग लड्न सक्ने गरी तयारी गर्ने होइनौं. तेस्तो तयारी होइ नै सक्तैन. आफुलाई चाहिदोसम्म झिकाउने छौं धेरै राख्नालाई हाम्रो हैसियतले पनि पुग्दैन.

फेरि धेरै बहुतै धेरै राखी बृटिश सर्कारलाई शंका पार्नाले पनि हामीलाई के फाइदा छ. बृटिशसंग जोरी खोज्नु ता आफ्नै विगार चिताउनु जस्तो हो. पछिकाहरू कस्तो होला भंने शंका होला. नेपालका कौनै प्राइमिनिष्टरले पनि तेस्तो आफ्नो मुलुकको विगारमा लाग्ने छैनन.

प्राइमिनिष्टरको पोजिशन बडो कठिनको छ. राजा रैती सबैलाई राजी खुशी राखी काम चलाउनुपर्छ. बृटिशसंग दोस्ती राख्नाकै हाम्रो पुरा इरादा छ. बृटिशतर्फ हाम्रा दुनियांको ख्याल दोस्तानाकै भै रहेछ. ई दुईका बीचमा लड्न कहिल्यै हुने होइन.

हातहतियार खजाना सबै हामीले हाम्रै मुलुकमा तयार गरुं भंने पनि होइसक्ने होइन. कलकार्खाना राखेपछि पनि तेसमा काम गर्नालाई चाहिने निकलइत्यादि कोरा मालहरू इंडियाबाट नल्याई सुख छैन. फेरि त्यसरी काम चलाउनालाई विना युरोपियन नभै हुंदा पनी हुदैन.

अब हेर्नुहोस् हाल लियन फिल्डको कार्तोस ७० लाख जति आयाको छ. त्यो धेरै राखीरहन हुने होइन. बराबर बदली राख्ने बंदोबस्त गर्नुपर्नेछ. नेपालले यहासम्म दोस्ताना देखाइसकेपछि सोही माफिक बृटिश सरकारले पनि नेपालमाथि विश्वास मान्नुपर्छ.

इज्जतका खातिर पनि नेपालले आफुलाई चाहिने जंगी सामान बनाउने कारखाना खडा गर्न सक्ने गर्नामा बृटिशले मदत गर्नुपर्दछ. हाम्रा श्री ५ महाराजधिराजलाई हिज् मेजेष्टी भंने लवज इस्तेमाल गर्नु ता भयो. तेसबाट स्वतन्त्रता जनाया माफिकको व्यवहार पनि हुनुपर्दछ.

क. हाल्याण्ड– बृटिशतरफका मिलिटरी ओथोरिटिहरूले आसपासका राज्यहरूमा ज्यादा जंगी सामान जम्मा हुन गै इंडियाको बृटिशहरूलाई समेत धक्का नआउने होस् भंने कुराको ख्याल र होशियार राख्नुपर्छ. तिनिहरूले नेपाललाई एकदम केही हक नराखी जो जति पनि जंगी सामान कल इत्यादि झिकाउन दिन हुन्छ भंने कुरा मंजुर गर्न गाह्रै हुंछ. किनभने तिनीहरूले इंडियाको बचाउनको ख्याल नराखी हुन्न.

श्री ३– बृटिश सरकारलाई समेत डर त्रास हुने गरी झिकाउनु हामीलाई पनि केही फाइदा हुने छैन. हामीलाई झिकाउन पाउने हक छ भंने कुराको कबुल बृटिश सरकारबाट हुनुपर्दछ.

क. हाल्याण्ड– अलिकति केही रोकजस्तो नराखी एकदम सबै छाडी दिनु मुनासिब पर्दैन.

श्री ३– जंगी सामान इंडियाको बाटो गरी झिकायाको तपाईहरूलाई थाहा नभै रहदैन.

क. हाल्याण्ड– सो झिकायाको रेजिडंटलाई पनि थाहा दिनुपर्ला.

श्री ३– हुन्छ.

क. हाल्याण्ड– यसको तजविज होला तपाईको कुरा सबै भाइसरायका जुनावमा पेश गरुला.

श्री ३– तपाईको मेहेरवनी हो. यसबारेमा केही कुरा गर्ने तजविज गर्नु भयो भने कस्तो लेख्ने भंने कुरामा पहिले मसंग एकपल्ट सल्लाह लिनु भया हुंदो हो. तेस्ले आफ्ना भारदारहरूसंग राय लिने मलाई औसर पनि मिल्नेछ.

क. हाल्याण्ड– तपाइको आसय बुझे. खुद तपाईको निम्ति के चाहनुहुन्छ तपाईको कामको गुण हामिले बहुतै मानेका छौ.

श्री ३– पहिले मेरा मुलुक मेरा सरकारलाई जो मिल्ने मिलोस् मेरो सबै भन्दा ठूलो आग्रह तेसैमा छ. सो भन्दा पछि जो होला.

क. हाल्याण्ड– तपाई आफुलाई र आफ्ना जहानका निमित्त सबसिडि वा अरु केही कुरा चाहनु हुन्छ कि.

श्री ३– बृटिश गभरमेन्टलाई दियाको मदतको बदला पहिले मेरो मुलुकले पाउनुपर्छ. मुलुकलाई नलिई मैले आफ्नो र आफ्नो जहानको निमित्त केही लिन ठीक देख्दिन. मेरा मुलुकमाथि हुन सक्ने सम्मको मेहरवानी होस.

प्रतिकृया दिनुहोस