अर्थ/बजारशनिवार, पौष ९, २०७३

मदिराको बढ्दो बजार

हिमालखबर

- सन्त गाहा मगर र शिव मुखिया

विवाह, भोजभतेर, जमघट आदिमा 'सोसल' हुन गरिने 'रेस्पोन्सिभ ड्रिंक्स्' ले नेपालमा स्वदेशी–विदेशी मदिराको बजार ह्वात्तै बढाएको छ।

नेपाली बृहत् शब्दकोश अनुसार 'सुरा' को अर्थ रक्सी, मदिरा, मद्य वा सोमरस हो। देवताहरूलाई मदमा पार्न सोमलताबाट निकालिने पेयपदार्थ हो– सोमरस। शब्दकोशले सुरा, सोमरस र मदिरालाई सामान्यार्थी शब्दको रूपमा अर्थ्याएको छ।

ऋग्वेदको सूक्त ५ को ३७औं मन्त्र अनुसार सोमरस भनेको ऋषिहरूलाई उत्साहित गर्ने, साथीहरूलाई आनन्द दिने, शीघ्र प्रभाव पार्ने वस्तु हो। ऋग्वेदकै पहिलो मण्डलको ८९७औं ऋचामा शीतलता, आनन्द र बल दिने वस्तुलाई सोमरसको रूपमा परिभाषित गरिएको छ। 

मदिरा ऐन २०३१ मा 'मदिरा' लाई अन्न, फलफूल वा अन्य कुनै स्टार्चयुक्त वस्तुलाई जीव–रासायनिक प्रक्रियाद्वारा कुहाएर वा अन्य कुनै तरीकाबाट तयार पारिएको अल्कोहलयुक्त पदार्थ भनिएको छ।

'मदिरा' शब्दले रक्सी, जाँड, छ्याङ, ह्विस्की, रम, जीन, ब्राण्डी, भोड्का, बियर, वाइन, सेरी, श्याम्पेन, साइडर, पेरी, मिड, माल्टन, औद्योगिक अल्कोहल, रेक्टिफाइड स्पि्रट, माल्ट स्पि्रट, साइलेन्ट स्पि्रट, डिनेचर्ड स्पि्रट र हेड्स स्पि्रट समेतलाई जनाउने ऐनमा उल्लेख छ।

ऋग्वेदका सन्दर्भहरूले पौराणिक कालबाटै मदिरा उपभोग हुँदै आएको बुझाउँछ। अहिले त भोजभतेर वा पिकनिकमा आफन्त वा साथीभाइसँग रमाउन र नाच्न–गाउनदेखि कसैको मान राख्न, संस्कृति बचाउन, व्यवहार मिलाउन र थकान मेट्नसम्म मदिरा प्रयोग हुने गरेको छ।

सुखमा, दुःखमा, उत्साहमा, निराशामा, गर्मीमा, जाडोमा, थकानमा, मर्दापर्दा, मदिरा उपयोग गर्नेहरूको संख्या बढ्दो छ। मानौं, आज मानिसहरू मदिरामा झुम्न बहानाको खोजीमा हुन्छन्।

साहित्यकार वियोगी बुढाथोकी ढंग पुर्‍याएर पिउँदा 'मूड अन' गर्ने, हिम्मत दिने र सामाजिक बनाउने हुनाले मदिरा लोकप्रिय भएको बताउँछन्। उनका अनुसार, त्यही कारण के सम्पन्न के विपन्न सबैको प्रिय बनेको छ, मदिरा।

बियरका पारखी बुढाथोकी जमघटमा खुल्न, नाच्न, गाउन र घरमा तनावमुक्त भएर निदाउन पनि पिउने बताउँछन्। “मैले बुझेको मदिरा सामाजिकता र सिर्जनात्मकता पनि हो”, बुढाथोकी भन्छन्, “तर, कतिपयले झगडा र तोडफोड गर्न रक्सी खाएको देख्छु।” (हे. बक्स)

कतिपयले पिउनु भनेकै अनियन्त्रित हुने गरी मात्नु हो भनेर बुझ्छन्, जुन सरासर गलत हो। मदिरा सेवन व्यक्तिगत र सामाजिक दुवै हिसाबले 'रेस्पोन्सिवल' नभए त्यसले सेवनकर्तालाई नै खाने उनी बताउँछन्।

हुन पनि, अनियन्त्रित रूपमा मदिरा पिएर शारीरिक र सामाजिक रूपमा बर्बाद भएका उदाहरण पनि प्रशस्त भेटिन्छन्। कतिपय जातिका कुलपूजा र भोजभतेरमा मदिरा अनिवार्य हुन्छ। त्यो भनेको मदिराको मर्यादापूर्ण उपयोग हो।

डार्क स्प्रिटदेखि बियरसम्म

साहित्यकार बुढाथोकी झैं जिम्मेवार ढंगले पिउनेहरूका लागि नेपालमा आयातीत र स्थानीय गरी दुई थरी मदिरा उपलब्ध छन्। कतिपयले नेपाली मदिरा बजारलाई इम्पोर्टेड, डोमेस्टिक र बियर भनेर वर्गीकरण गरेका छन्।

विभिन्न ब्राण्डका मदिरा आयात र उत्पादन गरिरहेको शारडा ग्रुपका निर्देशक गौरव शारडा नेपालमा जाडोमा रम र गर्मीमा ह्विस्की बढी खपत हुने बताउँछन्। नेपाली मदिरा बजारमा अन्तर्राष्ट्रिय ब्राण्डका वाइन, बियरदेखि जीन (ह्वाइट स्पि्रट) र ह्विस्की (डार्क स्पि्रट) सम्मको खपत बढेको छ।

आर्थिक वर्ष २०७२/७३ सम्म नेपालमा ८३ वटा ठूला मदिरा र बियर उद्योगले उद्योग विभागबाट सञ्चालन अनुमति लिएका छन्। घरेलु तथा साना उद्योग विभागबाट इजाजत लिएका समेत गर्दा मदिरा, डिष्टिलरी, वाइन, साइडर र बियर उद्योगको संख्या एक हजार ४६२ पुगेको छ।

यी तथ्यांकले नेपालमा मदिराको बजार बढिरहेको छ भन्ने देखाउँछ। आयातको आकार पनि उस्तै छ। आव २०७२/७३ मा रु.१८ अर्ब ३० करोड ८४ लाखको मदिरा आयात भएको भन्सार विभागको आँकडाले देखाउँछ। जबकि, आव २०६७/७८ मा रु.१२ अर्बको मदिरा भित्रिएको थियो।

आव २०७२/७३ मा विदेशबाट फर्किनेहरूले मात्र एक करोड २४ लाख २० हजार ८०५ लिटर विदेशी मदिरा ल्याएका थिए। रोजगारी, अध्ययन वा घुम्न विदेश गएका नेपालीले भारत, साउदी अरब, अमेरिका, ब्राजिल, रूसलगायतका विभिन्न २९ देशबाट ह्विस्की, रम, जीन, भोड्का र बियर ल्याउने गरेका छन्।

वाइन संस्कृति र प्रतिस्पर्धा
वाइन मूख्यतः तीन प्रकारका हुन्छन्– ह्वाइट, रेड र रोज। यी वाइन पिउने काइदा र समय पनि फरक छ। जस्तो, गर्मीयाममा ह्वाइट वाइन पिइन्छ भने जाडोमा रेड। रोज वाइन भने दुवै सिजनका लागि उपयुक्त मानिन्छ। वाइनको अर्को फरक भनेको गुलियो, हल्का गुलियो र टर्राे हुनु हो। तीनवटै स्वादका वाइनको समानता भनेको कुनैमा पनि पानी वा आइस मिसाउन नपर्नु हो।

नेपालमा गत वर्ष मात्र स्पेन, फ्रान्स, अष्ट्रेलिया, इटली लगायतका देशबाट ८ लाख २० हजार लिटर वाइन आयात भयो। भन्सार विभागको यो तथ्यांकले नेपाली जिब्रो विदेशी वाइनको स्वादमा अभ्यस्त हुन थालेको देखाउँछ।

हुन पनि, वाइनलाई 'सोसल ड्रिंक' को रूपमा लिनेहरूको जमात दिन प्रतिदिन बढ्दो छ। 'डिभाइन' ब्राण्डको वाइन उत्पादन गर्ने श्री महाकाली वाइन प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष खड्का बिहे, पास्नी, चाडपर्वलगायतका उत्सवहरूमा खुशी मनाउन वाइनको गिलास 'चियर्स' गर्ने संस्कृति झ्ाङ्गिदै गएको बताउँछन्।

१२ प्रतिशतदेखि १७ प्रतिशत अल्कोहल हुने भए पनि विदेशमा वाइनलाई 'मदिराजन्य पेय' को रूपमा लिइँदैन। नेपालमा भने यसलाई मदिराकै कोटिमा राखिन्छ।

यद्यपि, नेपाली पारखीहरूले मदिराको रूपमा भन्दा पनि संस्कृतिको रूपमा वाइन पिउने गरेको श्री महाकाली वाइन प्रालिका सीईओ खड्काको बुझाइ छ। हुन पनि, नेपालमा कहिल्यै मदिरा नपिउनेहरूले पनि वाइन लिएको देखिन्छ।

“वाइनमा लिंग र उमेरको भेद पनि छैन, जसले पिए पनि हुन्छ”, सीईओ खड्का भन्छन्, “तर, नियन्त्रित मात्रामा दैनिक बढीमा २५० एमएल।”

स्नोम्यान वाइनरी प्रालिका अध्यक्ष ज्ञानु प्रसाई फलफूलबाट बन्ने भएकाले वाइनमा औषधीय गुण समेत रहने बताउँछन्। उनका अनुसार, एउटा 'लिमिट' मा रहेर नियमित पिउने हो भने यसले शरीरलाई निकै फाइदा गर्छ।

मुटुको लागि रेड वाइन लाभदायक हुने उनी बताउँछन्। १३औं शताब्दीका ब्रिटिश दार्शनिक रोजर बेकरले पनि शरीरलाई न्यानो बनाउन, पेट ठीक राख्न, रगत सफा गर्न र खाना पचाउन वाइन पिउन सल्लाह दिएका थिए। अत्यधिक वाइन सेवनले भने मस्तिष्क र आँखालाई असर गर्ने उनले उल्लेख गरेका थिए।

स्नोम्यान वाइनरी प्रालिका अध्यक्ष प्रसाई मानिसलाई मानसिक र शारीरिक दुवै रूपमा राम्रो गर्ने वाइनप्रति नेपाली समाजको सकारात्मक धारणा भए पनि सरकारी उदासीनताले उद्योगहरूलाई टिक्न गाह्रो पारिरहेको बताउँछन्। उनका अनुसार, वाइन उद्योगहरूले हजारौंलाई रोजगारी दिएको छ, कृषिजन्य उत्पादन वृद्धिमा सघाउ पुर्‍याएको छ।

“सरकार भने स्वदेशी वाइन उद्योगलाई प्रवर्द्धन गर्ने कुरामा कहिल्यै संवेदनशील भएन”, प्रसाई भन्छन्, “अन्य मदिराजन्य पदार्थकै रूपमा राजस्व र कर असुले पनि वाइन उद्योगप्रति सरकार कत्ति पनि उत्तरदायी भएन।”

आयातीत वाइनसँग प्रतिस्पर्धा समेत गरिरहेका स्वदेशी वाइन उद्योगीलाई अस्वस्थ प्रतिस्पर्धाले पनि समस्याग्रस्त बनाइरहेको बताइन्छ। अहिले सञ्चालनमा रहेका १८ वटा वाइन उद्योगमध्ये हिंवा, डाँडाघरे, विग मास्टर, चेसुङ, डिभाइन ब्राण्ड लोकप्रिय मानिन्छन्।
-----------------------------------------------------------------------------------------------------------------------

पिउनु सिर्जनशीलता पनि हो
वियोगी बुढाथोकी (६२), साहित्यकार
४० वर्ष पहिले जागिरे हुँदा मदिराका पारखी हाकिम नवीनप्रकाशजंग शाहको संगतमा पिउन सिकियो। मात्न होइन, रातरातभर बसेर काम गर्नुपर्ने भएपछि ताजगीको लागि पिइयो। हार्ड ड्रिंक्सबाटै शुरू गरे पनि पछि म बियरतिर लागें।

अहिले पनि दैनिक कम्तीमा दुई बोतल पिउँछु। श्राद्ध, ठूलो एकादशी आदि गरी वर्षमा कुल ६ दिन बार्छु।

मेरा लागि पिउनु भनेको सामाजिकता, सिर्जनात्मकता, स्फूर्ति सबै हो। बियर विनाको जमघट मलाई खल्लो लाग्छ, नाचगानको जोश नै चल्दैन। मादक भए नाच आउँछ, गान पनि आउँछ। पिउँदा रमाइलो हुने मात्रै होइन, ऊर्जा पनि आउँछ।

नारायणगोपाल पिएरै गाउँथे। मलाई पनि पिएकै बेलामा धेरै कविता, गजल, मुक्तक फुरेका छन्। ध्रुवचन्द्र गौतम, भवानी घिमिरे, पुष्कर लोहनी, ईश्वर बल्लभ, मोहन कोइराला जस्ता साहित्यिकहरूसँग जमेर पिएको छु, पिएरै मज्जा लुटिरहेको छु।

अहिलेसम्म बिरामी भएको छैन। रक्सीलाई मैले खाने हो, रक्सीले मलाई खान दिन्न।

मदिरा आफैंमा अद्भुत आविष्कार हो। यसलाई पिएर मजा लिने हो। कोही–कोही कसैसँग रिस पोख्न, तोडफोड गर्न रक्सी पिएको देख्छु। कसैलाई मातेपछि अमर्यादित हर्कत नगरी हुँदैन। त्यस्ताहरूले नपिएकै राम्रो। अरूलाई असर गर्ने गरी पिउनुहुँदैन।

प्रतिकृया दिनुहोस