कङ्गारु मातृ स्याहार
जाडोयाममा नवजात शिशुको लागि कङ्गारु मातृ स्याहार वरदान हुन्छ।
महीना नपुगी जन्मेको, कम तौलका नवजात शिशु र वयस्क मानिसको छालालाई प्रत्यक्ष सम्पर्कमा राखिने विधिलाई कङ्गारु मातृ स्याहार भनिन्छ। अष्ट्रेलियामा पाइने कङ्गारुले बच्चा बोक्ने र स्याहार गर्ने तौरतरीका हेरेर यसलाई कङ्गारु मातृ स्याहार नामकरण गरिएको हो।
यसविधि अन्तर्गत नाङ्गो शिशुलाई दैनिक केही घण्टा छाती या पाखुरामा बोकेर आमाबाबुको प्रत्यक्ष सम्पर्कमा राखिन्छ। मेडिकल तवरले शिशुको स्वास्थ्य अवस्था स्थिर छ भने यो समयावधि बढाउन पनि सकिन्छ।
महीना नपुगेका र कम तौल भएका शिशुका लागि विकसित गरिएको भए पनि यो विधि नवजात शिशुलाई न्यानो राख्ने विशेष खाले मेशीन उपलब्ध नभएका वा भए प नि विश्वसनीय नभएका ठाउँहरूमा व्यापक प्रयोगमा आयो।
यो विधिले शिशुलाई शारीरिक न्यानो दिनुका साथै आमाबाबुसँग मानसिक रूपमा नजिक्याउन पनि मद्दत गर्छ। कङ्गारु स्याहारको बसाइ स्तनपान गराउन पनि उपयुक्त छ।
महीना नपुगेका वा कम तौलका शिशुले छालाभित्र आवश्यक मात्रामा बोसो नहुने हुँदा शरीरको तापक्रम स्थिर अर्थात् वरिपरिको वातावरण अनुकूल राख्न सक्दैन। त्यस्ता शिशुहरूलाई अधिक वा कम दुवै तापक्रमले नकारात्मक असर पुुर्याउँछ। त्य
स्ता नवजात शिशुको तापक्रममा स्थिरता ल्याउन न्यानो राख्ने मेशीनभन्दा वयस्क मानिसको तापक्रम राम्रो मानिन्छ।
नवजात शिशुको लागि कङ्गारु मातृ स्याहार विधि सघन उपचार कक्षकै विकल्प नभए पनि विश्वका २०० भन्दा बढी नवजात शिशु कक्षमा यसलाई उत्तिकै महत्व दिइएको छ। अमेरिकामै पनि ८२ प्रतिशत नवजात शिशु कक्षमा यो विधि अपनाइएको छ।
कम तौल भएका वा महीना नपुगेका शिशु धेरै जन्मिने अल्पविकसित देशहरूमा त प्रविधि, स्रोतसाधन र दक्ष स्वास्थ्यकर्मी समेत कम हुने भएकोले यो विधि झ्नै उपयोगी मानिन्छ।
खासगरेर रोगी शिशुहरू जन्मने र शिशु मृत्युदर पनि बढी भएका देशहरूलाई नै ध्यान दिएर सन् १९७८ मा बोगोटा कोलम्बियाका नवजात शिशु विशेषज्ञ एड्गार रे सानाब्रियाले कङ्गारु मातृ स्याहार प्रयोगमा ल्याएका हुन्।
उनका अनुसार, कम तौलका शिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर वरिपरिबाट बाक्लो कपडाले ढाक्दा प्राकृतिक न्यानो त पुग्छ नै सँगसँगै स्तनपान गराउन पनि सहायता पुग्छ।
यसमा न्यानो गराउने मेशीनको लागि चाहिने बजेट र दक्ष जनशक्ति पनि आवश्यक पर्दैन। यो स्याहार विधिले आमाको सन्तुष्टि तथा आत्मविश्वास बढाउन, शिशुलाई अस्पतालबाट चाँडै घर पठाउन सकिने अवस्था सिर्जना गर्न र अस्पतालजन्य संक्रमणको जोखिम घटाउन पनि सघाउँछ। यी कारणहरूले शिशुको बाँच्ने सम्भावनालाई ह्वात्त बढाइदिन्छ।
यो विधिले नवजात शिशुको नाडी कम चल्ने र श्वासप्रश्वास रोकिने समस्यासँगै अक्सिजनको आवश्यकता घटाउने काम पनि गर्छ। नवजात शिशुलाई अक्सिजन दिइएको, मुटुको चाल नाप्ने विद्युतीय उपकरणहरूमा राखिएको वा सलाइनहरू चलाएको अवस्थामा पनि कङ्गारु मातृ स्याहार दिन सकिन्छ।
शुरूमा १५०० ग्रामभन्दा कम तौलका शिशुको लागि उपयुक्त मानिए पनि आजकल महीना पुगेका शिशुलाई पनि यो विधिबाट स्याहार गर्न थालिएको छ।
कङ्गारु मातृ स्याहारमा आमा, बुबा वा आफन्तको नाङ्गो छातीबाट आउने मुटुको चाल, श्वासप्रश्वास प्रक्रिया, कुराकानी एवं निरन्तर स्पर्शले गर्दा शिशुलाई चनाखो हुन सहयोग पुग्छ। यसले शिशुमा तापक्रम वृद्धिसँगै निद्रा पार्न र संवेगात्मक विकासमा सकारात्मक प्रभाव पार्छ।
यसका लागि शिशुलाई राम्रोसँग पुछपाछ गरी यथाशक्य चाँडो कङ्गारु स्याहार र स्तनपान गराउनुपर्छ।
अमेरिकाको कङ्गारु स्याहार इन्ष्टिच्यूटका अनुसार महीना नपुगेका कमजोर शिशुहरूलाई निरन्तर वा पटक–पटक एक घण्टाभन्दा बढी यस्तो स्याहार दिनुपर्छ।
अभिभावकहरूले बुझनुपर्ने कुरा के भने पाखुरा वा काँधमा शिशु बोक्नुभन्दा कङ्गारु स्याहार विधि फरक कुरा हो। छालालाई प्रत्यक्ष सम्पर्कमा राखेर शिशु स्याहार्ने यो विधिबाट सबभन्दा बढी शिशुलाई अनि अभिभावकलाई फाइदा पुग्छ।