संशोधन अपूरो भए पनि पारित गर्नुु पर्छः अनिल झा
नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक अपूरा भए पनि त्यसलाई पारित गराउनु पर्ने बताएका छन् ।
आज, वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा झाले ढिलै भए पनि एमाले समेतको सहमतिमा संशोधन प्रस्ताव पारित हुने दाबी गरे ।
“ विधेयकले पूरा गरेका मधेशी मोर्चाका केही माग घटाउने एमालेले प्रयास गरेको छ, मोर्चा त्यसमा अझै बढी थप्न खोजिरहेको छ,” झाले भने, “जे होस ढिलोचाँडो यो विधेयक पारित हुन्छ ।”
उनले मोर्चाले चाहेर मात्रै सबै माग पूरा नहुने भन्दै किस्ताबन्दीमा भए पनि मागहरु पूरा गराइने दाबी गरे ।
उनले अहिलेसम्मका उपलब्धी संस्थागत गर्न संशोधन प्रस्ताव पारित हुनुपर्ने भन्दै थपे, “ अपूरै भए पनि तत्कालका लागि यो विधेयक पारित गराउनु जरुरी छ ।”
उनले अहिले आएर सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र संशोधन विधेयक अघि बढाउन गम्भीर नभएको पनि आरोप लगाए ।
विधेयकको विरोध गरिरहेको नेकपा एमालेलाई ‘प्रतिगामी र अलोकतान्त्रिक’ भन्दै मोर्चाको माग पूरा गराउनमा सबैभन्दा ठूलो बाधक एमाले भएको आरोप लगाए ।
सुरेश बिडारी, वीरगञ्ज