लोकमानविरुद्धको मुद्दामा अब २१ गते बहस हुने
सर्वोच्च अदालतमा सुनुवाई भइरहेको लोकमान सिंह कार्कीको मुद्दामा थप सुनुवाई अब २१ पुसमा हुने भएको छ ।
मुद्दा हेर्दाहेर्दै समय नपुगेको भन्दै सर्वोच्चले अर्को पेशी २१ पुसका लागि तोकेको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघि हिजो ७ पुसमा मुद्दाका पक्षमा अधिवक्ताहरुले बहस गरेका थिए भने आज लोकमान पक्षका अधिवक्ताले बहस गरेका छन् ।
कार्कीको तर्फबाट अधिवक्ताद्वय माधव बस्नेत र बालकृष्ण न्यौपानेले बहस गरेपछि आजको बहस समाप्त भएको हो । २१ पुसमा थप अधिवक्ताहरुले बहस गर्नेछन् ।
अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंहको पूर्ण इजलासमा हिजोबाट बहस शुरु भएको हो ।
यसैबीच अदालतमा तारेख बुझ्न लोकमानलाई वारेस राख्न सुविधा दिइएको छ । यसअघि अदालतले लोकमानलाई आफैं उपस्थित हुन आदेश दिएको थियो ।