लोकमानविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै' मा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ति बदर लगायतका मुद्दामा आज बहस नसकिएपछि हेर्दाहेर्दै' मा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन लोकमानको योग्यता नपुगेको लगायतका उनीसँग सम्बन्धित मुद्दामा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलाशमा सुनुवाई शुरु भएको हो । आज बहस नसकिएपछि अदालतले उक्त मुद्दालाई 'हेर्दाहेर्दै'को सूची राखेको छ । उक्त मुद्दामा भोलि पुन: बहस हुनेछ ।
रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्र लगायतले बहस गरेका थिए ।
उनीहरुले लोकमानको नियुक्ति संविधान विपरीत भएको कुरा राखेका थिए ।
नेपाल बार एसोसिएसनको ६०औँ दिवस परेको भन्दै लोकमानविरुद्धको मुद्दा सार्नका लागि अधिवक्ता भीमआर्जुन आचार्य, माधव बस्नेत, कुमार रेग्मी, सुशील पन्त, कृष्ण सापकोटा, आनन्दराज लम्सालले निवेदन दिएका थिए । तर आजको सुनुवाइ स्थगित भएन । यसअघि कार्कीको पक्षका अधिवक्ता बालकृष्ण न्यौपानेले बिरामी परेको भन्दै सुनुवाई स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।
लोकमानका पक्षबाट आज सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गरेका थिए । शुक्रबार विपक्षको तर्फबाट बहस हुनेछ । लोकमानको नियुक्ति संविधानसम्मत भए/नभएको सुनुवाइपछि निर्णय आउनेछ ।
यसैबीच, मुद्दाको पेसी बुझ्नका लागि सर्वोच्च अदातलमा पुग्दा लोकमानमाथि आज दुई व्यक्तिले मोसो दलेका छन् । । मोसो दल्ने दुबै जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
दुई युवाले ‘ नेकपा माओवादी जिन्दावाद, भ्रष्टाचारी मुर्दावाद, जनआन्दोलनका दोषीलाई कारबाही गर, हत्यारालाई कारबाही गर’ भन्ने नारा समेत लगाएका थिए ।