कला/साहित्यबिहिवार, पौष ७, २०७३

बारपाकी आशाः ‘अ सङ फर बारपाक’

हिमालखबर

युवराज श्रेष्ठ, पोखरा
प्रदीप पोखरेलले निर्माण गरेको वृत्तचित्र ‘अ सङ फर बारपाक’ ले भूकम्पले तहसनहस पारेको बारपाकका स्थानीयको अदम्य साहस र नवनिर्माणको उर्जा देखाएको छ ।

झण्डै एक दशकदेखि हिमाली जिल्लाहरु घुमिरहेका प्रदीप पोखरेल २०७१ चैतमा गोरखाको बारपाक पुगे ।

बारपाक महोत्सव चलिरहेको त्यो बेला पत्रकार प्रदीपले स्थानीय सांस्कृतिक झाँकीका दृश्य क्यामरामा कैद गरे । बारपाकको सुन्दरताले लोभिएका प्रदीपले त्यतिबेला १५ दिन बारपाकमा विताएका थिए ।

“गाउँको खेल, संस्कृति र गीतका बारे जानकारी लिएँ, भिडियो छायांकन गरेँ,’ उनी भन्छन् ।

गुराँस फुलेकोे वन र चम्किला हिमालले घेरेको बारपाक हेर्न फेरि २०७२ सालको वैशाखमा जाने योजना बनाएका थिए प्रदीपले तर, बिडम्बना उनी जान नपाउँदै १२ वैशाखको भूकम्पले बारपाक ध्वस्त पारेको खबर आयो ।

बारपाकलाई नै केन्द्रबिन्दु बनाएर १२ वैशाख २०७२ को विहान ११ः५६ बजे गएको भूकम्पले एक मिनेटमै झन्डै १२ सय घरहरु सोत्तर भए ।

“वैशाख पूर्णिमाका दिन बारपाक पुग्ने योजना बनाएका थियौं,” प्रदीप भन्छन्, “त्यसअघि नै गएको भूकम्पले बारपाक तहसनहस भयो ।”

भूकम्पपछि प्रदीप बारपाक जान झन हतारिए । हातमा क्यामरा र पीडित बारपाकीलाई केही राहत बोकेर उनी बारपाक पुगे । प्रदीपले एक महिना पहिले देखेको चिटिक्क बारपाक भग्नावशेषमा परिणत भएको थियो ।

छिनछिनमा जाने भूकम्पका साना धक्काले जमिनसँगै मुटु पनि हल्लाइरहन्थ्यो । त्यसैले प्रदीपले साहस गरे र बारपाकमाथि वृत्तचित्र खिचे ।

४९ मिनेट लामो ‘अ सङ फर बारपाक’ वृत्तचित्रमा बारपाकको विगत र वर्तमान देखाइएको छ ।

वृत्तचित्रमा भूकम्प जानुअघि बारपाकका सुन्दर गाउँपाखामा गुञ्जिएका सुरिलो भाकाका गीत, परम्परागत सांस्कृतिक झाँकीहरु देखिन्छन् भने वर्तमानमा भूकम्पले तहसनहस पारेपछिको पीडाबाट तंग्रिदै गरेका बारपाकीको सहास ।

अहिले बारपाकी विस्तारै आफ्नो पुरानो लयमा फर्कंदै छन् । सांस्कृति, परम्परा र गीतहरुको माध्यमबाट आशाको दियो जगाउँदैछन् ।

वृत्तचित्रका एक पात्र जितबहादुर घले भन्छन्, “बारपाक नेपालको नमुना गाउँ थियो, अब अन्तर्राष्ट्रिय स्तरको नमुना बनाउँछौं ।”

वृत्तचित्रमा कलाकार सलील सुवेदी मुख्य भूमिकामा छन् । उनको भूमिकामा बारपाकमा डोको रेडियोदेखि रेडियो बारपाकसम्मको यात्रा देख्न सकिन्छ ।

गत बर्ष किम्फमा दोस्रो भएको ‘राईजिङ फ्रम ईपिसेन्टर’कै पूर्णरुप ‘अ सङ फर बारपाक’ भएको निर्देशक पोखरेल बताउँछन् ।

पोखरामा बुधबारदेखि शुरु भएको पोखरा अन्तर्राष्ट्रिय पर्वतिय चलचित्र महोत्सब (पिम्फ) को उद्घाटन प्रदर्शनपछि बोल्दै निर्देशक पोखरेलले यो वृत्तचित्र बनाउन भूकम्पपछि बारपाक ९ पटक पुगेको संझिए ।

“बारपाकीले भूकम्पअघि गाउँ विकासका गीत गाउँथे,” उनले भने, “अहिले त्यहाँ गाउँ नै नयाँ बनाउने गित गुञ्जिन्छ ।”

शुक्रबार सम्म चल्ने पिम्फमा विभिन्न देशका ५० वटा चलचित्र प्रदर्शन हुँदैछन् ।

 

प्रतिकृया दिनुहोस