रिपोर्टबिहिवार, पौष ७, २०७३

बडिबिल्डर ननिताको विश्व च्याम्पियन लक्ष्य

सविता श्रेष्ठ

महिला बडीबिल्डिङको विश्व च्याम्पियनसिपमा ऐतिहासिक काँस्य जितेकी ननिता संसारभरका आमाका लागि प्रेरणा बनेकी छन्।

तस्वीर: बिक्रम राई

२१ मंसीरमा थाइल्याण्डमा भएको वर्ल्ड बडीबिल्डिङ च्याम्पियनसिपमा कास्य पदक जितेयता कीर्तिपुर–१७ की ननिता महर्जन (३१) को दैनिकी एकाएक बदलिएको छ। उनलाई सम्मान र बधाई थाप्न भ्याईनभ्याई छ। तर, चार महीनासम्म पनि उनलाई आजको दिनको कुनै कल्पनासम्म थिएन। 

“सबैको माया यसरी पाइएला भन्ने त सपनामा पनि चिताएकी थिइनँ”, ननिता भन्छिन्।

५ फिट ५ इन्च उँचाइकी ननिता स्कूले उमेरमा भलिबल, एथ्लेटिक्स र बास्केटबल खेल्थिन्। भलिबलमा क्षेत्रीयस्तरको प्रतियोगितासम्म सहभागी भएको उनको अनुभव छ। तर, स्नातक पढ्दापढ्दै जसै विवाह भयो, खेलकुद पनि रोकियो।

छोरो जन्मिएसँगै उनको वजन बढ्न थाल्यो। उनलाई आफ्नै शरीर भद्दा लाग्न थाल्यो। छोरो चार वर्ष पुगेपछि तीन वर्षअघि उनी पहिलोपटक फिटनेश सेन्टर पुगिन्। जुम्बा र एरोबिक्स गर्न थालिन्। 'शरीरका लागि शारीरिक सुगठन अझ राम्रो हुन्छ' भन्ने श्रीमान् रुदन बज्राचार्यको सुझावपछि भने उनी फलामका डम्बेललगायतका भार उचाल्न थालिन्। “७१ केजीबाट ६५ केजीमा झारें, जीमको कसरतले कहिलेकाहीं ढाड दुख्ने समस्या पनि हरायो”, उनी भन्छिन्।

गत जेठ महीनाको एक दिन ननिताका जीम प्रशिक्षक रुजेश शाहीले बडीबिल्डिङको राष्ट्रिय प्रतियोगिताबारे सुनाए। “विवाहित छौ, के गर्छ्यौ?”, शाहीको प्रश्न थियो। प्रतियोगिताबारे उत्साहित ननिताले परिवारसँग सल्लाह गरेर निर्णय सुनाउने बताइन्। परिवारले पनि प्रशिक्षकको आग्रह नकार्न नहुने भन्दै हौस्याए। उनी भन्छिन्, “परिवारले हुन्छ भन्नु नै मेरा लागि 'टर्निङ पोइन्ट' बन्यो।”

ननिताले अढाइ महीनासम्म राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिन्। तयारी कति कडा थियो भने, बिहान दुई घण्टा कसरत गरेर बाँकी समय कीर्तिपुरमा रहेको सुनचाँदी पसलमा बिताउने उनी बिहान र बेलुकी गरी ६ घण्टा जीममै बिताउन थालिन्, खानपिनको सन्तुलन त झनै बेग्लै।

“कसरत मात्र गरेर नहुने, चिल्लो, पिरो, मसालेदार खानै नहुने”, ननिता सम्झ्न्छिन्, “प्रायःजसो खानेकुरा उसिनेर मात्र खानुपर्थ्यो।” तयारीभर प्रोटिनयुक्त खानेकुरा मनग्ये खाइन्।

फलस्वरुप २५ भदौमा काठमाडौंमा आयोजित बडीबिल्डिङ प्रतियोगितामा पाँच प्रतिस्पर्धीलाई पछिपार्दै उनी महिलातर्फको नेपाल च्याम्पियन बनिन्। र, पहिलोपटक परिवारबाहिर चिनिइन्।

नेपाल च्याम्पियनले ननितालाई विश्व च्याम्पियनसिप प्रतियोगितामा भाग लिने सोझो बाटो खोलिदिएको थियो। प्रशिक्षकको सल्लाह र परिवारको प्रेरणाले उनी थप जोशिइन्। र, ५६ देशका महिला सहभागी विश्व च्याम्पियनसिपमा मुलुकलाई ऐतिहासिक काँस्यपदक दिलाइन्। 

रजतको दबाब
कडा परिश्रम गरेर शरीर सुगठित बनाउने काममा संसारभर महिला सहभागिता न्यून छ। नेपालमा पहिलो पटक भदौमा आयोजना गरिएको महिला बडीबिल्डिङ प्रतिस्पर्धामा पनि जम्माजम्मी ६ जना मात्र महिला सहभागी थिए।

ननिता स्वयंलाई पनि प्रतियोगितामा सहभागी हुनेबारे पटकपटक दोमन नभएको भने होइन। घरकी बुहारी भएकाले मान्छेका सम्भावित अनेकखाले टिप्पणीले अत्याएको थियो। “सबैभन्दा बढी त लाज लाग्यो”, उनी भन्छिन्, “बडी बनाउनुभन्दा पनि प्रतियोगिताको ड्रेस लगाउन गाह्रो भयो।” बडीबिल्डिङ शरीर देखाउने प्रतियोगिता भएको हुनाले उनले ड्रेसअप र मेकअप अभ्यास पनि गरिन्। इन्टरनेटमार्फत 'बडी शो' गर्ने तरीका पनि सिकिन्।

विश्व च्याम्पियनमा प्राप्त काँस्यले कडा शारीरिक परिश्रम, अनुशासन र निरन्तरताका लागि ननिताको आत्मबल बढाएको छ। घरमा समय दिन नसकेर खल्लो लागेको बताउने ननितालाई अब मंगोलियामा अर्को वर्ष हुने विश्व च्याम्पियनसिपमा कम्तीमा रजत जित्ने दबाब छ। “केही दिन फुर्सद लिन्छु”, उनी भन्छिन्, “अनि फेरि तयारीमा जुट्नुछ।” ननिताले देशलाई समय दिने बेला आएको छ।
सविता श्रेष्ठ

प्रतिकृया दिनुहोस