सरकार संविधानको नभइ कम्युनिष्टको पथमाः नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताएका छन् ।
पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा नेता सिटौलाले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताए ।
“सबै तह र तप्काको अथक संघर्ष र मेहनतबाट संविधान निर्माण भएको छ” नेता सिटौलाले भने, “यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो ।”
सरकार संविधानको भावना अनुरुप चल्न नसकेपछि जनस्तरमा असन्तुष्टि बढ्दै गएको उनको आरोप थियो । “वर्तमान सरकार संविधानको मर्म र भावना अनुरुप चल्न सकेको छैन” नेता सिटौलाले भने, “सरकार संविधानको बाटोमा नभई कम्युनिष्ट पथमा हिँड्न खोजेको छ ।”
नेता सिटौलाले सिंहदरबारको कार्यशैली परिवर्तन नगरेसम्म संविधानअनुसार जनताका पक्षमा काम नहुने उल्लेख गरे ।