बामदेवले भने– कास्कीबाट उपनिर्वाचन लडे फेरि हार्छु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्कीबाट उपनिर्वाचनमा उम्मेद्वार नहुने बताएका छन् ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेता गौतमले आगामी १४ मंसीरमा हुने उपनिर्वाचनमा उम्मेद्वार नबन्ने बताएका हुन् ।
सचिवालय बैठकपछि नेता गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले प्रेस नोट जारी गर्दै उपनिर्वाचनमा उम्मेद्वारी अस्वीकार गरेको जनाएका छन् ।
प्रेस नोटमा उल्लेख छ, “अध्यक्ष निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।”
बर्दिया–१, बाट अत्याधिक मत ल्याउदा समेत पराजित भएकाले कास्कीमा फेरि उम्मेद्वार बन्नुको अर्थ फेरि हार्नुभएको नेता गौतमले तर्क गरेका छन् ।
“...कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ”, गौतमलाई उदृत गर्दै सुवेदीले लेखेका छन् ।