भोलिबाट टिकट बुकिङ खुला, यस वर्ष भाडा नबढ्ने
दशैंको अग्रिम टिकट बुकिङ भोलि (आइतबार) देखि खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त बैठकले भोलिबाट दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो ।
उपत्यकाबाट दशैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणले आजदेखि टिकट काट्न सक्नेछन् । यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् ।
“व्यवसायीसँग भएको बैठकले ५ असोजबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको छ” विभागका महानिर्देशक हमालले भने, “अहिलेकै भाडादरमा यात्रुले टिकट काट्न सक्नेछन् ।”
यस वर्ष दशैंको घटस्थापना १२ असोजमा परेको छ भने १८ असोजमा फूलपाती, १९ मा अष्टमी, २० मा महानवमी र २१ मा विजया दशमी परेको छ ।