भारतीय प्रतिश्पर्धी हराउँदै टेनिसमा कमल थापा विजयी
पोखरामा शुरु भएको एनआइसी एशिया बैंक नेपाल आइटीएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा कमल थापाले विजयी शुरुआत गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा राप्रपाका अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री थापाले ५५ वर्षमाथिको एकलतर्फ भारतीय खेलाडी एसएन वशिष्ठलाई ६–० र ६–२ अंकले पराजित गरेका हुन् ।
अन्य खेलमा पोखराका भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुस्लिमलाई ६–०, ४–६ र ६–० अङ्कले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् ।
४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२ र ६–२ अंकको जित निकाले । अर्को खेलमा उत्तम बोगटीलाई पोखराका विकास गुरुङले ६–३ र ६–१ अङ्कले हराए । यसैगरी ३५ वर्षमाथिको उमेर समूहमा सञ्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३ र ६–० अङ्कले पराजित गरे ।
अर्को खेलमा अशोक गुरुङ घाइते भएका कारण पोखराका विकास गुरुङले अर्को चरण प्रवेश गरे ।
प्रतियोगितामा नेपाल र भारतका विभिन्न उमेर समूहका ५२ खेलाडी सहभागी छन् । यसअघि प्रतियोगिताको उद्घाटन गर्दैै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले टेनिस प्रतियोगिताले पोखराको खेल पर्यटनमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।