संविधान संशोधन हुन्न भनेर कहीं लेखिएको छैनः नेम्वाङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पुर्व सभामुख सुवास नेम्वाङले संविधान संशोधन गर्न जनमत आवश्यक पर्ने बताएका छन् ।
गृह जिल्ला इलाम पुगेका नेम्वाङले चार वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर कहींकतै नलेखिएको बताए । उनले जनताको जनमत लिएर संशोधन गर्न सकिने बताए ।
“बहुदलीय प्रतिपस्र्धामा विश्वास राख्ने दलहरुले निर्वाचनमार्फत जनताबाट संशोधनका लागि आवश्यक पर्ने जनमत लिएर जसले पनि संशोधन गर्न सक्छ” नेम्वाङले भने, “जनतामाझ संशोधनको मुद्दा लिएर निर्वाचनमा जान र संशोधनका लागि आवश्यक पर्ने मत आएमा संशोधन गर्न कसैले रोक्दैन ।”
संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका नेता नेम्वाङले संविधान कार्यान्वयनका पक्षमा सरकारले तीव्र गतिमा काम गरिरहेको बताए ।
“सरकारले आवश्यक कानून निर्माण गरी काम गर्ने बाटो र आधार तयार गरेको छ” नेम्वाङले भने, “नेकपाको सरकारले अब ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यमा तीव्रगतिमा अघि बढ्नेछ ।”