मधेशकेन्द्रित दलले भ्रम छरेः एमाले महासचिव पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेश केन्द्रित दलहरुले नेपालको संविधान नैं नपढी मधेशमा व्यापक भ्रम छरेको आरोप लगाएका छन् ।
बाराको डुमरबानामा आज, ६ पुसमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भ्रम नछर्दा मधेशमा आफ्नो अस्तित्व समाप्त हुने डरले मधेश केन्द्रित दलहरुले सोझा–साझा जनतालाई झुक्याएका बताए । उनले भने, “त्यो भ्रम चिर्न एमाले गाउँ पस्न थालेको छ ।”
“मधेशमा एमालेविरुद्ध भ्रम छर्न सके मात्रै आफ्नो राजनीति सफल हुन्छ भन्ने दिवास्वप्न बोकेका मधेसवादी दलहरुले निर्वाचनमा गए आफू सखाप हुने त्रासमा छन्,” उनले भने ।
उनले कांग्रेस र माओवादीले समेत निर्वाचन नचाहेको आरोप लगाए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य दिनेश राई, २ नम्बर प्रदेश ईन्चार्ज नागेन्द्र चौधरी, सांसदहरु पुरुषेतम पौडेल, बलबीर चौधरी, अच्युत मैनाली लगायतले मन्तव्य राखेका थिए ।
श्याम गुप्ता, बारा