१३ विमानस्थल मात्रै नाफामा
देशभर सञ्चालनमा रहेका ३२ मध्ये १३ विमानस्थल मात्रै नाफामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा, गौतमबुद्ध, नेपालगञ्ज, धनगढी, लुक्ला, जनकपुर, भरतपुर, जोमसोम र सिमिकोट विमानस्थल नाफामा छन् ।
अन्य विमानस्थलबाट मुस्किलले वार्षिक साधारण खर्च मात्र धान्ने गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । विकास खर्चमा त्यो रकम समावेश हुँदैन । प्राधिकरणले गत आर्थिक वर्षमा रु ६ अर्ब र विमानस्थल शुल्क बापत दुई अर्ब गरी आठ अर्ब नाफा कमाएको थियो ।
वार्षिक बजेटको तुलनामा यसलाई नाफा कमाएको मान्न सकिन्न । उक्त आर्थिक वर्षमा प्राधिकरणले ४५ अर्ब बढी बजेट विनियोजन गरिएको थियो ।
प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएर बजेट छुट्याइएको छ ।
भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एकमुष्ट २३ अर्ब विनियोजन गरिएको छ ।