विश्वकप फुटबलकाे रंगशाला बनाउन नेपाली कामदारकाे श्रम शाेषण !
सन् २०२२ को विश्वकप फुटबल कतारमा हुँदैछ । तर, विश्वकप फुटबलका लागि तयार हुँदै गरेको रंगशाला निर्माणमा श्रमशोषण रोक्न नसकिएको एमनेस्टी इन्टरन्याश्नलले जनाएको छ ।
एमनेष्टीले रिपोर्ट सार्वजनिक गर्दै कतारमा लगातार भइरहेको श्रमशोषण रोक्न असफल भएको निष्कर्ष निकालेको हाे । प्रतिवेदनअनुसार, अहिले पनि सयौं कामदार बिना तलब काम गरिरहेका छन् ।
बिना तलब काम गरिरहेका मजदुरहरुलाई सघाउन भनेर स्थापना गरिएको संयन्त्रले समेत काम गर्न नसकेको जनाइएको छ । कतार सरकारले मजदुरको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नभएको एमनेष्टीले जनाएको छ ।
विशेषगरी आप्रवासी कामदाहरुलाई महीनौं काम लगाएर बिना पारिश्रमिक घर फर्कादिने गरेको पाइएको छ । “सन् २०२२ को विश्वकप अघि सुधारहरु गर्ने महत्वपूर्ण प्रतिबद्धता व्यक्त गरे पनि कतार अनैतिक रोजगारका लागि खेल मैदान भएको छ”, रिपोर्टमा उल्लेख छ ।
सन् २०१७ नोभेम्बरमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग गरेको सम्झौतापछि कामदारको अवस्था सुधार गर्न नयाँ कानूनहरु पारित गरेको थियो । ती सुधारका कानूनमा आप्रवासी कामदारले देश छाड्न वा काम परिवर्तन गर्न रोजगारतादाको अनुमति लिनुपर्ने प्रणाली अन्त्य गरिएको थियो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि एमनेष्टीको रिपोर्टमा प्रतिक्रिया जनाउँदै कामदारमाथि भएको व्यवहारको गम्भीर रुपमा लिएको जनाएको छ । तर अझै आप्रवासी कामदारको श्रमशोषण रोकिएको छैन ।
ठूलाे संख्यामा नेपालीहरु पनि राेजगारीका क्रममा कतार पुगेका छन् । त्यस मध्ये थुप्रै नेपाली मजदुर विश्वकप फुटबलकाे रंगशाला निर्माणमा खटिएका छन् ।