कसैलाई रहर लाग्दैमा संविधान संशोधन हुँदैनः मन्त्री बाँस्कोटा
सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने बताएका छन् ।
संविधान दिवसको अघिल्लो दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले औचित्य पुष्टि भएको अवस्थामा संविधान संशोधन हुने बताए । उनले भने, “कार्यान्वयनभन्दा पहिले संशोधनको हतारो किन भएको हो ?”
नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलका रुपमा स्थापित संविधान अपरिवर्तनीय नभएको भन्दै मन्त्री बाँस्कोटाले जसले संविधान लेखेको हो, उसैले आवश्यकता ठाने परिवर्तन हुनसक्ने बताए ।
मन्त्री बाँस्कोटाले भने, “संविधान कुरान, बाइबल, पुराण र रामायण नभएकाले परिवर्तन नै हुन्न भन्ने मान्यता राख्न हुँदैन । यो गतिशील दस्तावेज हो । समयक्रमअनुसार नै आवश्यकताका आधारमा परिवर्तन हुन्छ । संविधान अपरिवर्तनीय होइन, परिवर्तनीय दस्तावेज हो ।”