पञ्चायतजस्तो उर्दी गर्दैमा उत्सव हुँदैनः नेता महतो
राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सरकारबाटै संविधान खतरामा रहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेता महतोले संविधान असफल बनाउन सरकारले अनेक गतिविधि गरिरहेको बताए । महतोले भने, “संविधानले गरेको व्यवस्था समेत कार्यान्वयन नगर्ने सरकारबाट संविधान खतरामा छ ।”
नेता महतोले संविधान दिवस मनाउन नसक्ने बताए । मधेशी, थारु र जनजातिलाई बेवास्ता गरेको संविधान जारी भएको दिनलाई उत्सवका रुपमा मनाउन नसक्ने उनले जानकारी दिए । महतोले भने, “पञ्चायतजस्तो उर्दी गर्दैमा उत्सव हुँदैन ।”
विगतका संविधान असफल हुनुका कारणबारे सरकारले ध्यान नदिएको उनले बताए । महतोले भने, “यो देश सबैको हो । संविधानको रक्षा गर्नुपर्छ । संशोधन गर्न ढिलाइ नगर्नुहोस् ।”