कोसँग छ एन्फाको
थ्रीस्टारलाई एएफसी कपमा सहभागी हुनबाट बञ्चित गराइनुले एन्फा नेतृत्व 'कहिल्यै नसुध्रने' प्रमाणित भएको छ।
एशियाली फूटबल महासंघ (एएफसी) को आयोजनामा १७ माघबाट शुरु हुने एएफसी कप–२०१७ को प्ले अफमा क्वालिफाइङ राउण्डमा समूह 'बी' को उपविजेता बनेको मंगोलियाको इर्चिम क्लबले सहभागिता जनाउँदैछ। तर, त्यही समूहको विजेता भएर पनि नेपालको थ्रीस्टार क्लब प्रतियोगितामा भाग लिनबाटै बञ्चित भयो।
आयोजक एएफसीको अस्वीकृति वा थ्रीस्टार स्वयंका कारण नेपाली क्लब प्ले अफबाट बाहिरिएको भने होइन। अखिल नेपाल फूटबल संघ (एन्फा) को चरम गैरजिम्मेवारीपनले नेपाली फूटबलले यो दिन देख्नुपरेको हो। जबकि प्रतियोगितामा थ्रीस्टारको सहभागिताका लागि एएफसीले एन्फालाई चार पटकसम्म पत्राचार गरेको थियो।
गएको भदौ पहिलो साता भएको प्रतियोगिताको छनोट खेलमा इर्चिमलाई २–० ले पराजित गरेको थ्रीस्टारले कम्बोडियाको नागावर्ल्ड क्लबसँग १–१ गोलको बराबरी खेल्दै प्ले अफ पक्का गरेको थियो।
प्ले अफमा नेपालको प्रतिनिधित्व नहुने निश्चित भएपछि २४ मंसीरमा एन्फा कार्यसमितिको बैठक बस्यो। सार्वजनिक रुपमा 'गल्तीको जिम्मेवारी लिन्छौं' भनेको एन्फा नेतृत्व बैठकमा भने आरोप–प्रत्यारोपमा उत्रियो।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतका पदाधिकारीहरू घटनाको जिम्मेवारी लिन तयार नै देखिएनन्। घटनामा दोषी एन्फा नेतृत्वको राजीनामा माग्न थालिएपछि भने एन्फा नेतृत्व आफूहरूसँग एन्फाको आधिकारिक इमेल ठेगानाको 'पासवर्ड' नभएको भन्दै उम्किन खोजेका थिए।
उनीहरूका भनाइमा एन्फाको इमेल पासवर्ड कर्मचारीद्वय बसन्त रिजाल र गोकुल थापासँग मात्रै छ। उनीहरू दुवै गणेश थापाको पालामा एन्फामा प्रवेश गरेका थिए।
“एन्फाको इमेल अध्यक्ष, महासचिव र प्रमुख कार्यकारी अधिकृतको जानकारी विना नै सञ्चालन भइरहेको छ भने त्यो त झनै आपत्तिजनक विषय हो”, एन्फाका एक उपाध्यक्ष भन्छन्, “यसले एन्फा बाहिरैबाट सञ्चालित भइरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ।”
एन्फाको बैठकमै महासचिव प्रधानले 'आफूसँग इमेलको पासवर्ड नहुँदा अरु काम गर्न पनि कठिनाइ भइरहेको' भन्दै दुःखेसो पोखेको पनि ती उपाध्यक्ष बताउँछन्।
आश्चर्य त के छ भने थ्रीस्टारले सोधीखोजी नगरेसम्म एन्फाले एएफसीबाट प्रतियोगितामा सहभागिताका लागि खबर नै नआए जसरी 'कानमा तेल हालेर' बसेको थियो।
२३ मंसीरमा क्लबको पत्रपछि मात्रै एन्फाले चासो देखाएको थियो। “एएफसीको वेबसाइटमा क्लबको नाम नदेख्दा हामी आश्चर्यचकित र स्तब्ध भएका छौं”, थ्रीस्टारको पत्रमा भनिएको छ, “थ्रीस्टारले एएफसी कप खेल्न नपाउनु क्लबका लागि मात्रै नभई देशकै लागि ठूलो क्षति हो। सत्यतथ्य जानकारी पाउनु क्लबको अधिकार हो।”
थ्रीस्टार प्रकरणमा एन्फाको चौतर्फी आलोचनापछि एन्फाले २४ मंसीरमा उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरेको छ।
१५ दिनभित्र सत्यतथ्य छानबीन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको यो समितिमा एन्फाका विकास निर्देशक संजीव मिश्र र कार्यसमिति सदस्य रमेश रायमाझी सदस्य छन्। तर, समितिको छानबीनप्रति धेरैले अविश्वास प्रकट गरिरहेका छन्।
हुन पनि एन्फाको सिन्धुपाल्चोक अध्यक्ष रहेका खड्कालाई उपाध्यक्षमा मनोनीत गरिएकै दिन संयोजकको जिम्मेवारी दिइएको हो। नेतृत्वले भनेबमोजिम प्रतिवेदन तयार पार्ने शर्तमै खड्कालाई उपाध्यक्षमा मनोनीत गरिएको बताउनेहरू पनि छन्।
त्यसो त खड्कालाई उपाध्यक्ष र मणि कुँवरलाई वरिष्ठ उपाध्यक्ष बनाउने निर्णयको एन्फाभित्रै विरोध भइरहेको छ। एन्फाका सदस्य पंकज नेम्वाङ दुवै नियुक्ति विधान विपरीत भएको बताउँछन्। एन्फा विधानमा वरिष्ठ उपाध्यक्ष नियुक्तिको व्यवस्था नै नभएको उनको भनाइ छ।
'आफ्नै गल्ती आफैं छानबीन' प्राकृतिक न्यायको सिद्धान्त विपरीत मानिन्छ। कात्तिकमा सम्पन्न निर्वाचनमा एन्फा अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पा यो घटनामा एन्फा नभई सरकार आफैंले छानबीन गर्नुपर्ने बताउँछन्। यसलाई नेपाली फूटबलमाथिको ठूलो आघात मान्ने शेर्पा भन्छन्, “यति गम्भीर गल्तीमा कर्मचारीलाई दोष दिएर नेतृत्व उम्किन मिल्दैन।”
अक्षम्य गल्ती, अपूरणीय क्षति
२४ मंसीरमा थ्रीस्टारलाई पठाएको पत्रमा यो गल्तीले 'क्लबको मात्रै नभई समग्र नेपाली फूटबलप्रेमीको गौरवमा समेत ठेस पुग्न गएको', एन्फा स्वयंले स्वीकारेको छ। एन्फाले पत्रमा पटकपटक माफीसमेत मागेको छ।
“तर, यो माफी मागेर पुग्ने चानचुने गल्ती होइन”, थ्रीस्टार क्लबका महासचिव संजीव शिल्पकार भन्छन्, “यहाँ त सिंगो देशलाई नै प्रतिनिधित्व गर्ने अवसरबाट क्लबलाई बञ्चित गरिएको छ।” हुन पनि प्ले अफ राउण्डसम्म पुग्दा थ्रीस्टारको निकै धेरै खर्च भइसकेको छ।
घरेलु लिग नहुँदासमेत यही प्रतियोगिताका लागि क्लबले खेलाडीहरूलाई पूर्णकालीन अनुबन्धमा राखेको छ। २०७२ सालको राष्ट्रिय लिग च्याम्पियन भएर एएफसी कपको क्वालिफाइङ राउण्डमा सहभागी हुन मंगोलिया जाँदा रु.६४ लाख खर्च भएको क्लबको दाबी छ।
प्रतियोगितामा सहभागी भएबापत थ्रीस्टारले पाउने करीब २० हजार डलर त गुम्यो नै, अब त एएफसीलाई जरिवाना तिर्नुपर्ने दायित्व पनि क्लबमाथि थपिएको छ। प्रतियोगितामा सहभागी हुनबाट रोकिएपछि २८ मंसीरमा थ्रीस्टारले एन्फासँग रु.६ करोड क्षतिपूर्ति माग गरेको छ।
एन्फाका कारणले क्लब र नेपाली फूटबलले व्यहोरेको क्षति भने अपूरणीय भएको जानकारहरू बताउँछन्। सन् १९८४ र १९९३ मा दक्षिण एशियाली फूटबलमा स्वर्ण पदक जितेको नेपालले गणेश थापाले दुई दशक एन्फाको नेतृत्व गर्दा एउटा पनि अन्तर्राष्ट्रिय उपाधि जितेको थिएन। तर, भ्रष्टाचारमा दोषी थापालाई ३० भदौ २०७२ मा विश्व फूटबल महासंघ (फिफा) ले १० वर्षे प्रतिबन्ध लगाएपछि भने नेपाली फूटबलले प्रगतिपथ पहिल्याएको थियो।
म्याच फिक्सिङ, राजनीतिक हस्तक्षेप र भ्रष्टाचारमा डुबेको नेपाली फूटबलको मनोबल यू–१९ साफ च्याम्पियनसिप, साग उपाधि, बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कपको जीतसँगै क्रमशः बढेको थियो।
तर एन्फाको पछिल्लो अक्षम्य गल्तीले मुलुकले महादेशीय प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर मात्रै गुमाएको छैन, फूटबलप्रेमी सारा नेपालीलाई नै निराश तुल्याएको छ। फूटबल विश्लेषक नवीन पाण्डे भन्छन्, “यस्ता घटनाले सम्बन्धित क्लबलाई मात्रै होइन सम्पूर्ण खेलाडी र समर्थकलाई नै दुःखी बनाउँछ।”
ललितपुरको मंगलबजारमा २०३१ सालमा स्थापना भएको थ्रीस्टारले जीवनकालमा यति ठूलो अपमानबोध कहिल्यै नगरेको क्लबका पदाधिकारीहरू बताउँछन्। “क्लबको छविमा अपूरणीय क्षति पुगेको छ”, क्लबका महासचिव शिल्पकार भन्छन्।
थ्रीस्टार प्रकरणले नयाँ नेतृत्व चुनिएपछि एन्फामा बेथिति ज्यँकात्यूँ रहेको आरोपलाई प्रमाणित गरेको छ। कतिपयले भने यो घटनालाई एन्फा नेतृत्वलाई नै असफल बनाउने खेल भइरहेको रुपमा पनि व्याख्या गर्न थालेका छन्।
एन्फाका सदस्य नेम्वाङ नेतृत्वको यो कुकर्मले नेपाली फूटबलको मुना पुनः निमोठ्न चाहेको संकेत गरेको बताउँछन्। भन्छन्, “एन्फाको यही नेतृत्व र प्रशासनले नेपाली फूटबललाई कहीं पुर्याउँदैन भन्ने सिद्ध भइसकेको छ।”