अरिंगाल र बघिनीको साटो मौरी र आमा विम्ब प्रयोग गर्न प्रमलाई बाबुरामको सुझाव
पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी, नेपालका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युद्धकालीन विम्ब प्रयोग नगर्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले युद्ध र हिंसाकालीन समय झल्काउने विम्ब प्रयोग नगर्न सुझाव दिए । भट्टराईले भने, “अरिंगाल र बघिनी हिंसाकालीन समयको विम्ब हो ।”
भट्टराई अरिंगालको ठाउँमा मौरी र बघिनीको ठाउँमा आमाको विम्ब प्रयोग गर्न प्रधानमन्त्रीलाई सुझाव दिए । मौरी र आमाजस्ता विम्ब प्रयोग गरे मात्रै शान्ति र मेलमिलापको वातावरण तय हुने नेता भट्टराईले बताए ।
भट्टराईले अहिलेको संविधान त्रुटिपूर्ण रहेकाले संशोधन गर्न ढिलाइ भएको बताए । उनले भने, “संविधान जारी भएको चार वर्ष भयो । अहिलेसम्म संशोधन हुन सकेको छैन ।”
संविधान संशोधन गर्न ढिलाइ गरे विद्रोह हुने चेतावनी दिए । नेता भट्टराईले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख भए मात्रै मुलुकले समृद्धिको गति लिने बताए ।