नेपालबाट बेपत्ता आफ्ना भूतपूर्व सैनिक खोज्न भारतले नसघाएकाे पाकिस्तानकाे आराेप
झन्डै साढे दुई वर्षअघि नेपाल–भारत सीमा क्षेत्रबाट हराएका पाकिस्तानी सेनाका पूर्वअधिकारीे कर्नल मोहम्मद हबिब जाहिरको खोजीमा भारतले नसघाएको पाकिस्तानले बताएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले सन् २०१७ को एप्रिलमा नेपालको लुम्बिनी क्षेत्रबाट हराएका पूर्वसैनिक कर्नल मोहम्मद हबिब जाहिरको खाेजीमा भारतले चासाे नदिएकाे बुधबार बताएको बीबीसीले जनाएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा भारतीय गुप्तचरका अधिकारी कुलभूषण जाधवसँग गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेको भोलिपल्ट पाकिस्तानले पनि धारणा सार्वजनिक गरेको हो ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अवकाशप्राप्त सैनिक अधिकारी जाहिर भारतीय हिरासतमा रहेको अनि जाधवसँग उनलाई साट्न खोजिएको भन्ने पत्रकारले प्रश्न सोधेको भन्दै पाकिस्तानले आफ्नो धारणा सार्वजनिक गरेको हो।
सन् २०१६ मा पाकिस्तानमा पक्राउ परेका भारतीय गुप्तचरका अधिकारी जाधवलाई पक्राउ परेको एक वर्षपछि मृत्युदण्डको सजाय सुनाइएको थियो । हाल उनी पाकिस्तानको जेलमा रहेका छन्।
पाकिस्तानी सेनाको वरिष्ठ पदबाट अवकाश पाएका जाहिर एउटा जागिरको आशामा नेपाल आएपछि बेपत्ता भएको बताइएको छ । अहिलेसम्म उनको अवस्थाबारे नेपाली सुरक्षा निकायले पत्ता लगाउन सकेको छैन ।
मार्क नाम गरेका एक व्यक्तिले टेलिफोन गरी जाहिरलाई नयाँ जागिरका लागि अन्तर्वार्ता दिन नेपाल बोलाएको र उनले नै पठाएको विमानको टिकट प्रयोग गरेर लाहोरबाट ओमान हुँदै सन् २०१७ को एप्रिल ६ मा जाहिर काठमाडौं आइपुगेको पाकिस्तानको भनाइ छ ।
उनी विमानस्थलबाट सोझै अर्को विमानबाट भैरहवा गएको बताइन्छ । उनले भैरहवा विमानस्थलमा अवतरण गरेपछि खिचेको आफ्नो फोटो र बोर्डिङ पास परिवारका सदस्यलाई पठाएको पनि बताइन्छ । त्यसपछि उनको मोबाइल बन्द भएको र परिवारसँग सम्पर्क टुटेको बताइएकाे छ।
जाहिर नेपाल–भारत सीमा नजिकैबाट बेपत्ता भएका, भारतीय नागरिकहरू उनलाई लिन आएका, होटल र टिकटको जोहो गर्न पनि भारतीय नागरिकहरूको संलग्नता देखिएको भन्दै पाकिस्तानले उनको खोजीमा आफूले भारतको सहयोग खोजेको उल्लेख गरेको छ।
उनी बेपत्ता भएलगत्तै पाकिस्तानी अधिकारीहरूले उनलाई झुक्याएर नेपालबाट बन्धक बनाइएको प्रतिक्रिया दिएका थिए।
पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका कुलभूषण जाधवलाई पक्राउ गर्ने टोलीमा जाहिर पनि रहेको दाबी गरिए पनि पाकिस्तानले बेपत्ता हुनुभन्दा झन्डै चार वर्षअघि नै जाहिरले सेनाबाट अवकाश पाएको जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।