कर्णालीबासीको निशुल्क बीमा
कर्णाली प्रदेश सरकारले कर्णालीबासीको विपद् दुर्घटना बीमा कार्यक्रम बुधवारदेखि शुरु गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले बीमा कार्यक्रमको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा कार्यान्वयन गरिएको बीमा कार्यक्रम अन्र्तरगत कर्णालीका हरेक नागरिकले एक लाख रुपैयाँको निशुल्क बीमा सुविधा प्राप्त गर्नेछन् ।
विपद् दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रति घर पाँच लाख रुपैयाँको बीमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
बीमा कार्यक्रमका लागि सरकारले चालु आवमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
सामुहिक रुपमा गरिने बीमाको प्रिमियम वापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बीमा कम्पनीलाई भुक्तानी गर्नेछ ।
-लक्ष्मी भण्डारी, सुर्खेत