अविरल वर्षाले नेपालगञ्ज डुबानमा
बुधबार बिहानैदेखि परेको अविरल वर्षाले नेपालगञ्ज डुबानमा परेको छ ।
न्यूरोड र घरबारी टोल क्षेत्रका अधिकांश पसलमा पानी छिरेको छ । नेपालगञ्जको सेतु विक चोक र न्यूरोड क्षेत्रका अधिकांश पसलमा पानी पसेको न्यूरोडका स्थानीय व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करीब आधा दर्जन बढी पसल डुबेका छन् । पानीको सहज निकास नहुँदा घरबारी टोलका ११ वटा घर तथा पसल डुबेका छन् । सडकमा पानी जम्मा हुँदा आवतजावत गर्न समेत समस्या भएको छ ।
न्यूरोडमै व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले डुबान समस्याले न्यूरोड क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्दै गएको बताए ।
नेपालगञ्जका अन्य वडा तथा टोलका केही घर तथा पसल पनि डुबेका छन् । कारकाँदोमा रहेको प्रहरीको अस्पताल र कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा पानी पसेपछि आवागमन र कामकाजमा समस्या भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयका केही भवन समेत डुबानमा परेका छन् ।
जानकी र खजुरा गाउँपालिकाका विभिन्न वडा पनि डुबानमा परेका छन् । खजुरा गाउँपालिका–७ मा आधा दर्जन बढी घर डुबेका छन् । त्यहाँ उद्धारका लागि प्रहरी परिचालित भएको छ ।