ब्लगबुधवार, पौष ६, २०७३

नूनको गुन

शुक्रसागर

जनतालाई नूनसम्म खुवाउन नसक्ने सरकारलाई के भन्नु र खै!

२०१५ सालमा ६/७ वर्षको मलाई बाजेले एकदिन बारीमा लैजानुभयो। कीर्तिपुरको त्यो बारीमा त्रिभुवन विश्वविद्यालयका भौतिक संरचना बनिसकेका थिएनन्। विश्वविद्यालयको निम्ति अधिग्रहण हुँदा आफ्नो बारी फुत्केकोमा बाजेको मन खिन्न थियो। उहाँ भवनहरू नबनुन्जेल बाली लगाउन दिएकोमा भने सन्तुष्टि लिइरहनुभएको थियो। 

रासायनिक मल आइनसकेको त्यतिबेला मलखादको निम्ति 'पेटको खेतमा, खेतको पेटमा' भनिन्थ्यो। जमीनमुनिको कालीमाटी पनि मलको रूपमा प्रयोग हुन्थ्यो, तर उक्त माटो निकाल्न कठिन र खतरायुक्त थियो र सबैले त्यस्तो आँट गर्दैनथे।

हाम्रो बारीमा भने कालीमाटी निकालेर छरिएको थियो, जुन सुकेर कंक्रिट जस्तै कडा र तीखो बनेको रहेछ। कलिलो पैतालामा सुकेको कालीमाटी गडेर हैरान बनाएपछि भनें– “बाजे, म त सक्तिनँ!”

बाजे साह्रै सोझ्ा। सानो स्वरमा भन्नुभयो, “मकै भएन भने तँ भोकै पर्छस्। म खन्दै जान्छु, तँ खनेकै ठाउँमा टेक्दै दुई/दुई वित्तामा मकै खसाल्दै जा।”

त्यहीबीचमा ढ्वाङ्ग तोप पड्क्यो– घडी नभएको समयमा देवशमशेर महाराजले चलाएको चलन। शहरीकरण र कोलाहल नभएको त्यो बेला टुँडिखेलमा तोप पड्केको काठमाडौं उपत्यकाभरि सुनिन्थ्यो।

१२ बजेको तोप पड्केपछि खाजा खाने समय हुन्थ्यो, बाजेले रोटी र अचारको पोको फुकाउनुभयो। अचारमा चोपेर रोटी यसो मुखमा हालेको, नून चर्को भएर खानै सकिनँ। बाजेलाई शिकायत गर्दा मायालु स्वरमा भन्नुभयो, “खाऊ बाबु, खानुपर्छ। यति नुनिलो नखाए भरे घाँटी पोल्छ।”

त्यसको तीन वर्षमा म नुवाकोटको थान्सिङ मामाघर गएँ, बस्न। मावली बाजे नुवाकोटका प्रसिद्ध व्यापारी थिए, तर भर्खरै स्वर्गे भएका। पसल थान्सिङ महादेव थानमा थियो। बाटैमा दुई घर थिए, एउटा चूडाकान्त भण्डारीको अर्को कृष्ण साहूको।

चूडाकान्त बाजे राम्रो खेती र मनग्ये पशुधनबाट जमेका थिए भने व्यापारी कृष्ण साहूको त कुरै गर्नु परेन। छोरानातिको मामलामा पनि दुवै छिमेकी धनी थिए। काठमाडौंमा मीन पचासको विदा भयो कि दुवै घर नातिनातिनाले भरिन्थे। दुई घरबीच दूध, दही, घ्यू, तरकारी साटासाट चल्थ्यो।

यदाकदा मुखबाट 'नेपर्‍या न्यार' र 'जाग्वारा जैसी' निस्के पनि छिमेकबीच ठूलो मिल्ती थियो। मामाको पसलमा ग्राहकलाई तमाखु तौलेर दिने मेरो काम थियो। काम हलुङ्गो भए पनि हातमा च्याप् च्याप् खुँदो लाग्ने र जो पनि छटाक, आधापाउ मात्र किन्न आउने हुनाले झयाउ लाग्थ्यो।

हात धोऔं, कति पटक धुने। दिक्कतकै काम थियो, तर गर्नैपर्ने। तमाखु किन्न आउनेले अरू पनि किन्ने हुनाले एकथोक छैन भन्दा अर्थेक व्यापार पनि घट्ने। लार्के, मुस्ताङ, मनाङ, जुम्ला, हुम्लासम्मका मानिस काठमाडौं आउजाउ गर्ने बाटो त्यही थियो। झण्डै २०० जतिको लस्करसहित राजा महेन्द्र त्यही बाटो पश्चिम भ्रमणमा गएको दृश्य अहिले पनि सम्झ्न्छु।

नुवाकोटबाट ओर्लेर ढिकुरे छोडेपछि ककनी नपुगुन्जेल बीचमा यही एउटा पसल भएकोले चकाचक चलेको थियो। त्यहाँ आइपुगेपछि मानिसहरू बिसाउने, पानी पिउने, एक–दुई फाँका चिउरा खाने गर्थे। बटुवाहरू सिंदुरे खोलाबाट ल्याएको कुलाको चीसो पानी खान्थे।

गते बिर्सें, २०१७ साल वैशाखको एक दिन टन्टलापुर घाम लागेको थियो। धानको धोक्रो बोकेका एक जनाले पसलकै आँगनमा बिसाए। गर्मी चर्कै थियो। उनले 'ए बाबु, पानी खाउँ न' भनेपछि अम्खोरामा दिन के लागेको थिएँ, पसिनाले भिजेको भादगाउँले टोपी फुकालेर थापे। अचम्म मान्दै मैले अम्खोरामै खानुस् भनें, तर उनी मानेनन्। पट्याएर थापेको टोपीमा म पानी खन्याउन थालें, उनी घटघट पिउँदै गए।

मेरो मनमा खुल्दुली मच्चिनै रहेको थियो। अनि पिटी त हाल्दैनन् होला नि भनेर सोधें– “किन टोपीमा खाएको?

उनले सरल ढंगले भने– “बाबु, टोपीमा शत् छ। यसबाट पानी खाँदा घाँटी पोल्दैन। अम्खोरामा शत् छैन घाँटी पोलेको पोल्यै हुन्छ।”

उनको कुराले मलाई बाजेले बारीमा भनेको कुरा सम्झायो। दिनहरू बित्दै सन् १९९४ आयो। जर्मनीको कोलोन विश्वविद्यालयले मुस्ताङमा पुरातात्विक उत्खनन् गर्ने भएपछि पुरातत्व विभागबाट म खटिएँ। कास्कीको नयाँपुलसम्म मोटरमा गई चार/पाँच दिनमा टुकुचे पारि चोखोपानी पुगेर काम गर्नु थियो। पहिलो बास बीरेठाँटीमा भयो।

अर्को दिन पसिनाले निथ्रुक्क हुँदै उल्लेरीको ठाडो उकालो कटेपछि नयाँपाटी आयो। त्यहाँबाट नजीकै अन्नपूर्णको दक्षिणी पाटो राम्रो देखिन्थ्यो। चिया उम्लिंदै गर्दा १९५० मा सर्वप्रथम मोरिस हेर्जाेगले आरोहण गरेपछि अन्नपूर्ण ८००० मिटरभन्दा अग्लो हिमालको सूचीमा परेको वर्णन गर्दै थिएँ, एंगेला सिमान्सले सानो शिशी निकालेर त्यसबाट सेतो धूलो हत्केलामा थापेर चाट्न थालिन्। के हो भनेर सोध्दा उनले जर्मन भाषामा भनिन्– “इख इस्से साल्ज...।”

धेरै पसिना निस्केर शरीरमा नूनको कमी हुँदा घाँटी पोल्छ, त्यस्तो बेला अलिकति नून खानुपर्ने उनले बताइन्। म  झसंग भएँ। अनि फेरि मेरो दिमागको बिर्को खुल्न थाल्यो, मकै छर्न जाँदा बाजेसँग खाएको खाजा र त्यो थान्सिङे भरियाको शत् लाग्ने टोपी सम्झें। विचरा मेरा बाजे र ती थान्सिङे मामाले भन्न जानेनन्, तर दुवैलाई विज्ञान थाहा रहेछ।

समयक्रममा दिमागको बिर्को फेरि बन्द भएर नुनको यो सत्य बिर्सिसकेको रहेछु, सुदूरपश्चिम पहाडका नेपालीले नूनै खान नपाएको समाचारहरूले झ्ल्यास्स पारिदियो। अनि मनमा धिक्कारको निर्मम प्रहार भयो। हाम्रो नेपाल राज्यले आफ्ना नागरिकलाई आयोडिन मिसिएको नून खुवाउन कहिले सक्ला?

प्रतिकृया दिनुहोस