डेंगीबाट बच्न सरकारको तीन नारा
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगी संक्रमितको संख्या बढ्दै गएको भएपनि आपतकाल घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा उपप्रधानमन्त्री यादवले डेंगीबाट अहिलेसम्म ५४ जिल्लामा पाँच हजार ९५ संक्रमित र त्यस मध्ये पाँच जनाको मृत्यु भएको जानकारी गराए । उपप्रधानमन्त्री यादवले देशमा डेंगी समस्या बन्दै गएको बताए ।
तर, विश्वभर डेंगीको समस्या बारे संक्षिप्त रिपोर्ट नै प्रस्तुत गर्दै मन्त्री यादवले भने, “आपतकाल घोषणा नै अवस्था होइन ।”
डेंगी संक्रमितबारे सरकारले गरिरहेको कार्यक्रमबारे मन्त्री यादवले जानकारी गराए । विश्व संस्था संगठनकै चिन्ताको विषय बनेको डेंगीबाट बच्न सरकारले विभिन्न कार्यक्रम ल्याएको मन्त्री यादवले जानकारी गराए ।
मन्त्री यादवका अनुसार, डेंगीबाट बच्न सरकारले तीन नारा तय गरेका छन् ।
‘सवैको साथ, डेंगीको नाश’, ‘हप्ताको एक दिन, एक घण्टाः हुँदैन कुनै कष्ट, सवैको सहभागितामा लामखुट्टे लार्भा नष्ट’ र ‘खोज र नष्ट गर’ नारा सरकारले तय गरेको मन्त्री यादवले जानकारी दिए ।
मन्त्री यादवले सवै जिल्लाम समुदाय नै सक्रिय हुने, विद्यार्थी मार्फत डेंगीबारे सचेतना बाँड्ने अनि स्वयम् सेविकालाई यस कार्यमा खटाउने नीति तय भएको छ । यस्तै, डेंगीबारे प्रचार–प्रसारमा जोड दिने पनि मन्त्री यादवले बताए ।