नेपालीको आलोचनात्मक रवैया र असन्तोष गर्ने बानी छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिदो समयअनुसार आर्थिक उन्नति गर्दै देश समृद्ध बनाउन जुट्ने समय आएको बताएका छन् ।
सातौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिलाई आत्मसात गरी पुराना पाराले नभई आधुनिक समाजअनुकूल उत्पादनसँग प्रविधिलाई जोड्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, “हामीमा आलोचनात्मक रवैया र असन्तुष्टि व्यक्त गर्ने बानी पनि छ । तर, वीर र विद्वान् पूर्खाका सन्तान रहेको, प्राकृतिक रुपमा सम्पन्न मुलुकलाई पछाडि पर्नुपर्ने आवश्यकता छैन ।”
केही स्वार्थी तत्वहरु अहिले पनि विकास, सुशासन भन्दा उत्ताउला र प्रतिगामी, जन्मसिद्ध श्रेष्ठताको अवैज्ञानिक कुरा गरेर हिँडिरहेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले विज्ञानका क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण दिनुपर्ने भएकाले सरकारले त्यो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।