ज्ञानेन्द्र शाहीमाथि कारबाहीको माग
सांसद चक्रप्रसाद स्नेहीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीलाई कारबाहीको माग गरेका छन् ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा सांसद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने शाहीमाथि कारबाही चलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
शून्य समयमा स्नेहीले भने, “लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारबाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।”
सांसद खिमकुमार विश्वकर्माले सर्वाेच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिए ।
सांसद कविता बोगटीले हुम्लामा नेपाल वायुसेवा निगमको हवाई उडान नियमित गर्न माग गर्दै चाडबाड आउन लागेको समयमा दुर्गम क्षेत्रमा थप हवाई उडानको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।