अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले नेप्सेमा उछाल
मंगलबार शेयरबजार परिसूचक नेप्से २६.९१ अंकले बढेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले शेयरबजारका विषयमा सकारात्मक अभिव्यक्ति दिएसँगै परिसूचक एकाएक बढेको हो ।
खतिवडाले कर्मचारी सञ्चयकोषको कार्यक्रममा शेयर बजारमा लगानी गर्न उपर्युक्त समय आएकाले सरकारी र निजी कोषहरुले लगानी बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
उनले राजनीतिक स्थिरता तथा कम्पनीहरुको नाफामा वृद्धिका कारण बजार बढ्नुपर्ने बेला भएको बताएका थिए ।
नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका कम्पनीहरुको औसत मूल्य बढेपछि नेप्से परिसूचक १ हजार १५० विन्दु नाघेको छ ।
मंगलबारको कारोबारमा प्रायः सबै उपसमूह सकारात्मक छन् । उत्पादनमूलक उपसमूह ४ दशमलव ५२ प्रतिशतले बढेको छ । ब्यांकिङ उपसमूह २.०४ प्रतिशत, जलविद्युत उपसमूह ४.२७ प्रतिशत र जीवन बीमा उपसमूह २.०८ प्रतिशतले बढेका छन् ।
शिवम सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९० प्रतिशत कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव ५९ प्रतिशत गुमाएका छन् । मंगलबार कारोबार भएका १७१ कम्पनीमध्ये १८ कम्पनीका लगानीकर्ताले मात्र गुमाएका छन् ।
पछिल्ला दिनमा शेयर बजार परिसूचक नेप्से ओरालो लागेसँगै निराश लगानीकर्ता करिब २७ अंकको उछालपछि उत्साहित बनेका छन् ।