सोलुमा एक विदेशीको मृत्यु, सात बिरामी
सोलुखुम्बु भ्रमणमा रहेका एक विदेशी नागरिकको लेक लागेर मृत्यु भएको छ । ७ जना विदेशी बिरामी परेका छन ।
केन्याबाट नेपाल भ्रमणमा आएका भारतीय मुलका गोविन्द लख्मन (३३) को मृत्यु भएको प्रहरीले बताएको छ । उनीसँगै रहेका बिरामी ७ जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट प्रहरीले उद्धार गरेको छ ।
माहाकुलुङ गाउंपालिका १ थाङ्नेस्थित मेरा गेष्ट हाउसमा पर्यटकको समुह बसेको थियो ।
होटलमै बिरामी भएका ८ मध्ये एकको मृत्यु भएको र अर्कालाई अक्सिजन लगाएर राखिएको अवस्थामा उद्धार गरिएको सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक नारायण चिमरियाले बताए ।
डाइनेष्टिक र कैलाश एयरको दुई वटा हेलिकप्टरले उद्धार गरेकोमा खराब मौसमका कारण एउटा हेलिकप्टर सुर्के भन्ने ठाउँमै अवतरण गरेको उनले जानकारी दिए ।
“बाक्लो हुस्सु लागेको छ, केही पनि देखिने अवस्था छैन” चिमरियाले भने, “एउटा हेलिकोप्टर काठमाडौ पुगिसकेको छ, मौसम खुलेपछि अर्को पनि उड्छ ।”
होटलमै रहेको शवलाई भने एक गाइड र एक भरियाले कुरेर बसेका छन् । मौसम खुलेपछि शव काठमाडौ पठाइंने उनले बताए ।
-कमल रिमाल