११ हजार भोल्टको करेन्ट प्रवाह हुँदा १५ घाइते, लाखौंका विद्युतीय सामान नष्ट
बाराको बड्की फलवरिया–८ सनफुलवा टोलमा ५ पुस बिहान ‘हाईभोल्टेज करेन्ट’ प्रवाह हुँदा १५ जना घाईते भएका छन् भने लाखौं मूल्य बराबरको विद्युतीय सामान नष्ट भएको छ ।
११ हजार भोल्ट विद्युत प्रवाह भइरहेको तार अचानक चुडिएर ४०० भोल्टको तारमा छोइ गाउँभर ‘हाई भोल्टेज’ करेन्ट प्रवाह हुँदा १५ जना घाइते भएका हुन् । ‘हाई भोल्टेज’ का कारण लाखौं मुल्य बराबरको विद्युतीय सामग्री समेत जलेर नष्ट भएको छ ।
विद्युतीय पोलमा रहेको ‘पिन इन्सुलेटर’ मा खराबी आउँदा ११ हजार भोल्टेज करेन्ट प्रवाह भइरहेको तार चुँडिएर घर–घरमा विद्युत प्रवाह भइरहेको अर्को तारलाई छुँदा गाउँभर ११ हजार भोल्टेजको करेन्ट प्रवाह भई दुर्घटना भएको विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका इन्जिनियर रामआशिष यादवले बताए ।
“त्यसरी तार चुँडिएर अर्को तारमा छुँदा विद्युत प्रवाह अवरुद्ध हुनु पर्नेमा बरेवा सबस्टेशनका यन्त्र पुरानो भई काम नगरेकाले हाइभोल्टेज प्रवाह हुनपुग्यो,” उनले भने ।
प्राधिकरणले तार मर्मतमा बेवास्ता गरेको कारण चुडिएर दुर्घटना भएको स्थनीय वासिन्दा रामजनम साह रौनियारले बताए ।
घाइते मध्ये ९ जनाको कलैया अस्पताल र अन्यको भारतको छौडादानोमा उपचार भई रहेको स्थानिय राधेचन्द्र प्रसाद यादवले जानकारी दिए ।
‘हाई भोल्टेज करेन्ट’ प्रवाह भएका कारण बडकीफुलवरीया गाविस वडा नम्बर ८ स्थित ६५ घरमा रहेका टेलिभिजन, मोटर, पंखा, फ्रिज, बत्ति लगायतका लखौं मुल्यको विद्युतिय उपकरण जलेर कामै नलाग्ने भएको छ ।
क्षतिको विस्तृत विवरण अझै आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज