पुनःनिर्माणमा खटिएका प्राविधिकहरूको सामूहिक राजीनामा
सरकारले माग पूरा नगरेको भन्दै भूकम्प अतिप्रभावित ११ जिल्लामा खटिएका इन्जिनियर, सब-इन्जिनियर र ओभरसियरहरूले सामूहिक राजीनामा दिएका छन् ।
उनीहरुले आज अपराह्न शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा पत्र बुझाएका हुन् ।
प्राविधिकहरूको २२ मंसीर देखिको आन्दोलनपछि आएको घर निर्माणको तयारी गरिरहेका भूकम्पपीडितहरू थप समस्यामा पर्ने भएका छन् ।
केही प्राविधिकहरूले सामूहिक राजीनामा दिन्छौं भन्दै राजीनामा बुझाएको कार्यान्वयन इकाईका प्रमुख शिवहरि शर्माले जानकारी दिए । उनले माग पूरा गर्ने निर्णय भइसकेकोले प्राविधिकहरुलाई केही समय धैर्य गर्न भन्दा पनि नमानेको बताए ।
राजीनामा बुझाउने मध्येका इन्जिनियर सन्तोष क्षेत्रीले ११ जिल्लामा खटेका ७० प्रतिशत प्राविधिकले सामूहिक राजीनामा गरेको बताए ।
आफूहरुले विभिन्न माग राखेर अल्टिमेटम दिँदा पनि सरकारले सुनुवाई नगरेकाले राजीनामा दिन वाध्य भएको उनको भनँई छ । सरकारले अब गर्ने निर्णयले आफूहरु काममा फर्कन नफर्कने टुंगो लाग्ने उनले बताए।
प्राविधिकहरुले सेवा सुविधा, जीवन बीमा, सुरक्षा, कार्यालय र स्पष्ट निर्देशिका लगायतका माग राख्दै केही दिनदेखि काम ठप्प पारेका थिए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडितलाई प्राविधिकको खाँचो भएका बेला उनीहरुले राजीनामा दिनु गलत भएको बताएका छन् । उनले प्राविधिकका मागहरु पूरा गर्न प्राधिकरणले पहल गरिरहेका बेला राजीनामा दिनु गलत भएको भन्दै राजीनामा स्वीकृत गर्ने नगर्ने छलफलपछि मात्रै निर्णय हुने बताए।