मोर्चासँग सम्भावित मुठभेड टार्न एमालेको कार्यक्रम सारियो
मधेशी मोर्चाको धम्कीपछि बाराको कलैयामा ६ पुषमा हुने भनिएको नेकपा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम डुमारवानामा सारिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाराले एमालेलाई कलैयामा राजनीतिक कार्यक्रम नगर्न धम्की दिएपछि एमालेले कलैयाको कार्यक्रम बाराकै डुमरवानामा सारेको हो ।
एमालेका महासचिव इश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा कलैयामा हुने कार्यक्रम डुमरवानामा ६ पुष मै आयोजना गरिएको एमालेको भातृ संगठन युवा संघ नेपालका बारा जिल्ला अध्यक्ष ध्र्रुब यादवले जानकारी दिए । ‘
“कलैयामा कार्यक्रम गर्दा मोर्चासंग मुठभेड हुन सक्ने अवस्था आयो । त्यसैलाई ध्यानमा राखी पार्टीले कलैयाको कार्यक्रम डुमरवानामा गर्ने निर्णय गरेको हो,” उनले भने ।
मधेशी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल बाराका अध्यक्ष रामबाबु कुमार यादव, तमलोपाका जिल्ला अध्यक्ष नवलकिशोर सिंह, सदभावना पार्टीका सफिक अन्सारी, तराई मधेस सदभावना पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका कमरुल्लाह अन्सारी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका महम्मद फिरोज, नेपाल सदभावना पार्टीका महेन्द्र मण्डलले ५ पुषमा संयुक्त विज्ञप्ति जारी गरेर कलैयामा कार्यक्रम नगर्न धम्की दिएका थिए ।
सुरेश बिडारी, वीरगञ्ज