शीर्ष नेताहरुबीच झण्डै दुई घण्टा छलफल, कांग्रेसको प्रस्ताव नागरिकता विधेयक नचलाऔं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका शीर्ष नेताहरु बीच प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा छलफल भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाकै आग्रह बसेको शीर्ष बैठकमा नागरिकता विधेयक र बाँकेमा कांग्रेस कार्यकर्तामाथि भएको आक्रमणबारे छलफल भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
छलफलमा कांग्रेसले नागरिकताबारे २०६३ को प्रवाधान नचलाउन आग्रह गरेका थिए । नेकपाका नेताहरुले भने यसबारे छलफलको आवश्यकता रहेको जवाफ दिएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिमा अंगीकृत नागरिकताबारे छलफल भइरहेको छ । समितिले विदेशी बुहारीलाई सात वर्षपछि र ज्वाइँलाई १५ वर्षपछि अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव गरेको छ ।
कांग्रेसले भने अहिले चलिरहेकै प्रावधान कायम राख्नुपर्ने अडान लिइरहेको छ । छलफलमा कांग्रेस बाँकेका सभापति किरण कोइरालामाथि नेकपाको कार्यकर्ताले आक्रमण गरेको कांग्रेसले आपत्ति जनाएको थियो ।
छलफलमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, महासचिव बिष्णुप्रसाद पौडेल र मन्त्री ढकाल सामेल थिए भने कांग्रेसबाट सभापति देउवा र वरिष्ठ नेता पोडेलसँगै महामन्त्री शशाङ्क कोइराला, प्रवक्ता शर्मा सहभागी थिए ।