तिवारी हत्या घटनामा सोधपुछका लागि तीनजना पक्राउ
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले सोधपुछका लागि आज ३ जनालाई पक्राउ गरेको छ ।
देवदह खैरेनीबाट शंकास्पद ३ जनालाई पक्राउ गरेको अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीले बताए ।
हिजो स्थानीयलाई फोन गरेर आफ्नो नेतृत्वको समूहले गोली हानी हत्या गरेको बताउने मनोज पुनको फोन र आवाज बारे पनि अनुसन्धान थालेको मरासिनीले जानकारी दिए ।
अनुसन्धानका लागि काठमाडौंबाट बुटवल आएको प्रहरीको बिशेष अनुसन्धान टोलीले भोलीबाट काम थाल्ने भएको छ ।
यसैबीच तिवारी हत्याको विरोधमा युवा संघले दिनभर बुटवलमा प्रदर्शन गरेको छ ।
विरोध सभामा बोल्दै युवा संघ नेपालका पदाधिकारीहरुले घटना विशुद्ध राजनीतिक प्रतिशोधका कारण भएको दाबी गर्दै घटनालाई अन्तै मोडेर मुद्दा कमजोर बनाउने प्रयास भइरहेको बताएका थिए ।
दीपक ज्ञवाली, बुटवल