चिन्तकद्वय भूसाल र गिरिले भने– लोकतन्त्र खतरामा छ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भूसालले राजनीतिक दलहरुको अकर्मन्यताका कारण प्रजातन्त्र गुम्ने खतरा बढेको बताएका छन् ।
गान्धी अध्ययन शान्ति केन्द्रको कार्यक्रममा नेता भूसालले प्रजातन्त्र जोगाउन नेपाली कांग्रेस र नेकपाबीच सहकार्य आवश्यक रहेको बताए । नेता भूसालले देशको आर्थिक वृद्धि यो गतिले हासिल हुन नसक्ने भन्दै समाजवादबाट मात्र नेपालको समृद्धि हुने बताए ।
गान्धी अध्ययन शान्ति केन्द्रका संस्थापक उपाध्यक्ष प्रदीप गिरीले जनयुद्ध, ओखलढुङ्गा, झापा काण्ड हँुदै नेपालको राजनीति यहाँ आइपुगेको संस्मरण गरे ।
नेपालको संविधानमा भएको प्रावधानप्रति देशमा गहिरो असन्तोष रहेको बताउँदै उनले संविधानका सबै अंशीयार तथा लोकतन्त्रका संस्थाको न्यूनतम सहमतिविना संविधान घोषणा भएकाले लोकतन्त्र खतरामा बताए ।
राजनीतिज्ञ डा. कञ्चन झा, केन्द्रका अध्यक्ष दीपकुमार उपाध्याय, महासचिव शेखर गिरी तथा पूर्व राजदूत लोकराज बराल, डा उद्धब प्याकुरेललगायतका वक्ताले अहिलेको सरकारले देश चलाएको तरिकाले जनतामा असन्तुष्टि बढेको धारणा राखे ।