साउदीमा ड्रोन आक्रमणपछि तनाब, तेलको मूल्य बढ्न सक्ने आकलन
साउदी अरबका तेल उद्योगमा ड्रोनबाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाइलाई इरानले इन्कार गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले अमेरिकाले लगाएको आरोपमा बिल्कुलै सत्यता नरहेको र अर्थहीन रहेको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार साउदी अरबमा भएको ड्रोन हमला इरानले गरेको आरोप लगाएका थिए । ड्रोन आक्रमणका कारण संसारको सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्येको एक साउदी अरबले तेल उत्पादन आधा कटौती गरेको छ ।
यमनका इरान समर्थित हुथी विद्रोहीहरुले उक्त हमलाको जिम्मेवारी लिएका छन्, तर पोम्पेओले ड्रोन आक्रमण यमनबाट भएको भन्ने कुनै प्रमाण नभेटिएको दाबी गरेका छन् ।
१० वटा ड्रोन आक्रमणबाट साउदी अरेबियाको पूर्वी प्रान्तका अब्का र खुराइसका तेल उद्योगमा ठूलो क्षति पुगेको छ । यमनको हुथी विद्रोही समूहले जिम्मेवारी लिएको उक्त ड्रोन आक्रमणपछि आफ्नो उत्पादन आधा घटाएको छ।
साउदीले यसअघिको भन्दा आधामात्र तेल उत्पादन गर्ने भएपछि सोमबारदेखि विश्वबजारमा तेलको मूल्य बढ्ने आकलन गरिएको छ।
साउदीका राजकुमार मोहम्मद सलमानले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुराकानी गरेका छन्। उनले उक्त आक्रमणको जवाफ दिन साउदी सक्षम रहेको बताएका छन् । ड्रोन आक्रमणले अरब क्षेत्रमा तनाव बढ्न सक्ने देखिएको छ ।