सुदूरपश्चिममा २४ जनामा डेंगी संक्रमण
सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेंगी सङ्क्रमण देखिएको पुष्टि गरिएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा डेंगी भेटिएको हो ।
उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा मृत्यु भएको हो ।
डोटीमा डेङ्गुका बिरामीलाई उपचारार्थ काठमाडौँ लगिएको जिल्ला अस्पताल डोटीका डा गिरिष अवस्थीले बताए । उनले भने, “जिल्लामा जाच्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहा डेङ्गु देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।”
डेंगी नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच जिल्लामा अभियान नै सञ्चालनको तयारी गरेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।