समाचारबिहिबार, २६ भाद्र , २०७६

धरहराको पुनर्निर्माण २६ प्रतिशत पूरा

लक्ष्मी बस्नेत

ऐतिहासिक धरहरा पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणमा बिहीबार भएको धरहरा पुनर्निर्माण प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीका प्रतिनिधि रमन महतोले यसबारे जानकारी दिएका हुन् ।

धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो 'बेसमेन्टको क्रंक्रिटिङ' गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य शुरु भएको छ ।

त्यसैगरी, गोश्वारा हुलाक रहेका भवनहरु भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरु हाल्ने कार्य चलिरहेको छ ।

समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरु समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । त्यसक्रममा उनले गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्न समेत जोड दिए।

समीक्षा कार्यक्रममा धरहरा पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्यहरु, निमित्त सचिव लगायतको उपस्थिति थियो ।

यसैबीच, दशैंलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्ने गरी काम भइरहेको छ । सञ्चय कोष र साविकको गोश्वारा हुलाकको बीचमा ८ फुटको अस्थायी पैदल मार्ग हुनेछ । खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ।

प्रतिकृया दिनुहोस