समाचारबिहिबार, २६ भाद्र , २०७६

इन्द्रजात्रामा विदेशी पाहुना

हिमालखबर

इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलो पटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना काठमाडौं आउँदैछन् ।

भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बताए ।

“भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रजात्रामा विभिन्न देशका पाहुनालाई आमन्त्रण गरिएको छ”, उनले भने, “यो कार्यक्रमबाट नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ ।”

पाँच दिनसम्म बस्ने उनीहरुलाई विभिन्न स्थानमा घुमाउने योजना तय भएको छ । महानगरपालिकाका बहाल, बहीसँगै काठमाडौँ जिल्लाका अरु नगरपालिका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका घुमाउने गरी योजना बनाइएको प्रमुख शाक्यले बताए ।

उनले भने, “महानगरपालिकाले यसका लागि गरिने खर्च पर्यटन प्रवद्र्धनका लागि महानगरको लगानी हो, यो लगानीबाट भोलि उपत्यकावासीले लाभ पाउनेछन् ।”

यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका छ देशका १३ वटा नगरबाट ४८ पाहुना आउने निश्चित भएको प्रमुख शाक्यले बताए । सात महीना पहिलेदेखि नै इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगरप्रमुखलाई निमन्त्रणा पठाउन थालिएको थियो ।

प्रतिकृया दिनुहोस