समाचारबुधबार, २५ भाद्र , २०७६

डेरामा बस्छन् जङ्गबहादुर राणाका सन्तान

गोपाल गडतौला

भुजा ज्युनार गर्न सवारी होइबक्स्योस् ।

कुर्ता सलवार लगाएकी प्रौढ महिला छेउमा आएर आग्रह गरेपछि टाउको हल्लाएर उनले ‘हुन्छ’ भन्ने संकेत दिए ।

८१ वर्षीय यी बृद्धले हिमालखबरका संवाददातालाई ती महिलाबारे परिचय दिए– उनी मेरी महारानी नारायणी ।


बोली बचनमा पुरापुर राजखान्दानको लवज झल्किने यो परिवार काठमाडौं मनहरा खोला किनारको एउटा घरमा डेरा लिएर बसेको छ।

जङ्गबहादुर राणाको सन्तान हुन्, यी ८१ वर्षीय यमजित प्रताप ।

गोविन्द द्वादशी र हरेक भदौंमा सोह्रश्राद्धको द्वितीया तिथिमा श्राद्ध गर्ने यमजितले डेरा लिएर बसेको घरका भित्तामा जंगबहादुर राणाको ठुलो तश्विर राखेका छन् ।

उनी जङ्गबहादुर राणाका छैठौं पुस्ताका जेठा सन्तान हुन् । वंश लतिकामा जङ्गका जेठा छोरा जगतजङ्ग, तीनका छोरा नाती जर्नेल युद्धप्रताप, तीनका छोरा चन्द्रप्रताप, तीनका छोरा शिवप्रताप र तीनका पनि छोरा हुन्, यमजीत प्रताप ।

यमजित प्रतापका छोरो निराकार प्रताप काठमाडौंको एउटा एयरलाइन्समा काम गर्छन् । उनको कमाईले ५ जनाको परिवार चल्न मुस्किल रहेको बताउने डेराबासी ‘महाराज’ यमजित प्रतापलाई छिमेकीले बोलाँउदा ‘राजा साहेव ’भन्छन् । यो सम्बोधनलाई उनी सहज ठान्छन् ।

बिक्रम सम्वत्त १९३३ मा जङ्गबहादुरको बाराको पत्थरघट्टामा निधन भएपछि तिनका सन्तानहरुको दुर्दशाका दिन शुरु भयो । समशेर खलकका राणाहरुले जङ्गका सन्तानलाई काठमाडौंबाट बाहिर पठाए ।

सिन्धुली, धनकुटा, पाल्पा, नेपालगञ्जलगायतका ठाँउमा आज भेटिने राणाहरु समशेर खलकबाट कोपभाजनको शिकार भइ विसं. १९४२ मा उपत्यकाको चार भञ्ज्याङबाट खेदिएका यमजित प्रताप बताउँछन् ।

उनका पुर्वज भने उपत्यकाबाट खेदिएर सिन्धुली झँगाझोलीस्थित परेवाडाँडामा बसेका थिए । उनीहरुले उपत्यका आउनु परेमा सिंहदरबारबाट खड्ग निशाना लगाएर (स्वीकृती लिएर) मात्र आउन पाँउथे । उपचार गराउन, कसैको विहाबारीको निम्तो मान्न र देवालीमा भाग लिन उनीहरु उपत्यका आउथें ।

राणाहरुले देश लुटे भन्ने ब्यहोरा लेखिएको पाठ्यसामग्री आफ्ना छोराछोरीले पनि पढेको सन्दर्भ उनलाई नमिठो लाग्छ । दिनदिनै दालचामल, नुनभुटुन र तरकारी किनेर हातमुख जोर्नुपरेका यमजित प्रताप भन्छन्, “देश लुट्नेको सन्तान भन्छन्, हामीलाई ज्वरो आँउदा सिटामोल खाने पैसो हुँदैन ।”

सिन्धुलीमा बसेकै बखत यमजित प्रतापले भने मोरङतिर आउजाउ बढाएका थिए । करिव ४० बर्ष विराटनगरमा बसेका उनले विराटनगरको मिल्स एरियामा काम पनि गरे ।

विराटनगर हुँदा उनले मोरङ अटो, रघुपती जुट मिल र सुगर मिलमा जागिर खाएर परिवार पालेको बताए । विराटनगरमा २ कठ्ठा जग्गा पनि जोडेका छन् । २०५० सालपछि भने उनी काठमाडौं पसे । सरकारले हडपेको जङ्गबहादुरका सन्तानको हकलाग्ने जमिनमाथि आफ्नो हक स्थापित गर्न उनी २०६० सालमा सर्वाेच्च अदालतमा पुगे ।

५ मंसिरमा सर्वाेच्च अदालतले उनीहरुको मागदावी अनुसार काठमाडौं मनहराको ५० रोपनी जग्गाको स्वामित्व उनीहरुको हुने फैसला गरिदियो । यो जङ्गका सन्तानहरुले १२१ बर्षपछि पाएको जमिन थियो ।

अघिल्ला ५ पुस्ताका सन्तानहरुलाई भाग लगाँउदा उक्त जग्गाबाट १३ आनामात्र आफ्नो भागमा आउने बताँउदै उनी भन्छन्, ‘फैसला कार्यान्वयनको झन्झटिलो प्रकृयाका कारण फैसला भएको १३ बर्षपछि पनि त्यो जग्गा भोगचलन गर्न पाएको छैन् ।’

जङ्गबहादुरको काठमाडौं टेकुस्थित कालमोचन घाटको २९ रोपनी २ अना जग्गा २०२१ सालमा सरकारले राजगुठीमा परिणत गरेको थियो । उपत्यकाभित्रका यस्ता ३ ठाँउका जग्गाको विषयमा अदालतमा उजुरी हालेर फैसला पर्खिरहेका उनी राणहरु सबै अपराधि हुन भन्ने आम बुझाई खेटयुक्त र हल्ला भएको बताँउछन् ।

तिलश्मी ढंगले राजपाटमा उदाएका जङ्गबहादुर र त्यसपछिका परिवारका सदस्यहरुको विषयमा पारिवारिक रुपमा भनिदैं आएका थुपै कहावत उनको मुखबाट सुनिन्छ ।

जङ्गका छोरा जगतजङ्गको विवाह राजा सुरेन्द्रकी छोरी शाहज्यादी टीका राज्यलक्ष्मीसँग भएको थियो । यसरी तत्कालीन श्री ५ र श्री ३ सम्धी भए ।

उनले घरमा परिवारका ज्येष्ठ सदस्यहरुका मुखबाट जङ्गका बारेमा सुन्दै आएका कहावतहरु रोचक लाग्छन् ।

जङ्गबहादुर बिसं. १९०८ तिर बेलायत जादाँ नर्तकीहरुको नाँचबाट प्रभावित भई सुन र चाँदीका सिक्काहरु रजतपटमा फ्याँकेका थिए।

बेलायतबाट फर्किंदा जङ्गबहादुर फ्रान्समा केही दिन अडिए । तत्कालीन फ्रान्सेली सैन्य शासक नेपोलियन तृतीयले उनलाई तीन दिन रोकेर एकै पटक एक लाख सेनाद्वारा 'गार्ड अफ अनर' दिएका थिए ।

त्यही सैन्य सलामी लिएका बखतको जंगको पोजिसन भएको ढुंगे मुर्तीपछि फ्रान्सले नेपाललाई पठाइदियो जुन टुडिखेलको एक कुनामा स्थापित छ ।

प्रतिकृया दिनुहोस